कालिकोट, जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय कालिकोटमा व्यापक अनियमितता भएको पाइएको छ । कार्यालय प्रमुख चन्द्रप्रसाद अधिकारीले आफै पेस्की लिने, कार्यक्रम गर्ने र विल भरपाई किर्ते गरी अनियमितता गरेको पाइएको हो ।
२०७९ साल साउन २० गते द्धन्द्धपीडित शिक्षकहरु पदस्थापन तथा पुर्नवहालीका बारेमा बसेको बैठकमा उपस्थित नौ जना शिक्षकहरूको कार्यालय प्रमुख चन्द्रप्रकाश अधिकारीले किर्ते हस्ताक्षर गरी रकम खाएको पाइएको हो । एक जनालाई एक हजार पाँच सयका दरले पाउने बैठक भत्ता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अधिकारीले किर्ते गरी बजेट खर्च देखाए पनि सम्बन्धित शिक्षकलाई भत्तालाई नदिएको पाइएको छ ।
बैठकमा उपस्थित ९ जना मध्ये कार्यालय प्रमुख र सूचना अधिकारी बाहेक ७ जनाको एक हजार पाँच सयका दरले पाउने रकममा कर कट्टी गरी जम्मा ८ हजार नौ सय २५ रुपैयाँ प्रमुखले लिएको पाइएको छ । बैठकमा उपस्थित शिक्षक सङ्घ सङ्गठनका पदाधिकारीहरूले आफूहरू बैठकमा उपस्थिति रहेको तर, भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताएका छन् ।
उपस्थित सहभागीहरुको बैठक भत्ताको भरपाई र अन्य बैठकमा माइन्युटहरुको हस्ताक्षरमा पनि फरक देखिएको छ । यस विषयमा कार्यालय प्रमुख अधिकारीले रुपियाँ निकासा नभएकाले बैठक भत्ता दिन नसकेको दाबी गर्नुभयो । तर बजेट भने कार्यालयको खाताबाट घटेको छ । लेखापाल पूर्णचन्द्र काफ्लेले आफू धेरै कार्यालयको लेखा हेर्ने भएकाले कार्यालय प्रमुखले आफ्नो नाममा पेस्की माग्ने भएकाले आफूले सल्लाह दिँदा पनि नमानेर दिने गरेको र उहाँले के गर्नु हुन्छ आफूलाई थाह नहुने गरेको बताउनुभयो । उहाँले कार्यालय प्रमुखको हस्ताक्षर सहित खर्च बुक गर्न आदेश भएपछि आफूले खर्च विवरण मात्र राख्ने गरेको सुनाउनुभयो ।अाजकाे गोरखापत्र दैनिकमा खबर छ ।