काठमाडाैँ,प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै सात करोड २२ लाख बाँडेका छन् ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिइएको बताए । ‘अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गरेर गर्न सक्छन्,’ उनले भने ।
कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि ९१ र प्रदेश सभा सदस्यका लागि एक सय ७९ उम्मेदवार छन् । यसअनुसार दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख ‘बाटो खर्च’ बाँडेका हुन् ।कांग्रेसले आर्थिक उपसमिति बनाएर शुभचिन्तकहरूबाट स्वैच्छिक रूपमा चुनावी सहयोग संकलन गरिरहेको निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले बताए । तर, यसरी संकलित रकम उम्मेदवारहरूलाई नदिइने उनको भनाइ छ ।
‘टिकट दिएर पठाउँदा संघ र प्रदेशका उम्मेदवारलाई सभापतिले केही बाटो खर्च दिएर पठाउनुभएको छ । पार्टीले उम्मेदवारको अरू खर्च व्यवस्थापन भने गरेको छैन, त्यो काम उहाँहरूकै हो,’ श्रेष्ठले भने । उम्मेदवारलाई दिइएको ‘बाटो खर्च’ सभापतिको स्वविवेक भएकाले आफूलाई त्यसबारे जानकारी नभएको उनको भनाइ छ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।