काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणले दुईजनाको मृत्यु र तीनजना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रतप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउन वातावरण निर्माण गर्न निर्देशन दिएका हुन्।
आइतबारको निर्वाचनमा मतदान भइरहेको बेलामा त्रिवेणी नगरपालिका– ७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको थियो।त्यस्तै सोही विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा चेतन ऐडीको मृत्यु भएको थियो। उनको उपचारका क्रममा बयलपाटा अस्पताल अछाममा आज बिहान मृत्यु भएको हो।
ऐडीको मृत्यु भएपछि त्रिवेणी नगरपालिका ७ को अवस्था तनावपूर्ण छ । एमालेका कार्यकर्ताले सुरक्षामा लापरवाही गर्ने निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्।केन्द्र र जिल्लाले पहल गरेपछि अहिले त्यहाँको अवस्था बिहानको भन्दा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले जानकारी दिए।गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव पोखरेलले केन्द्र र जिल्लाको पहलले बाजुराको त्रिवेणीको अवस्था सामान्य बन्दै गएको जानकारी बताए।
यसैबीच गृहमन्त्री खाणले बैतडीको पाटनमा मतपेटिका पु¥ याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ९ जना घाइते भएको घटनाबारे जानकारी लिँदै घाइतेलाई उचित उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।बैतडीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा केन्द्रका सुरक्षा प्रमुखहरुसँग यसबारे जानकारी लिँदै उचित उपचारको प्रबन्ध मिलाउन र जिल्लाको स्रोतले नपुग्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका हुन्।पाटन नगरपालिकाको थुम भन्ने स्थानमा बिहान साढे ६ बजेतिर जीप दुर्घटना भएको थियो ।रासस