ललितपुर,पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताए। समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखातिर आफ्नो ध्यान रहेको उनको भनाइ छ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ’राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’
अध्यक्षले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पूरा गर्ने सङ्कल्प गरेको बताए। उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस गर्ने गरी विकासलाई गति दिने बताए।
अध्यक्षले भने, ’गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ । ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्नुपर्ने पनि छ । यी सबै पूरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु ।’
अध्यक्ष प्रचण्डले गोरखाली जनसमूदायको सद्भाव गोरखा र केन्द्र दुबै स्थानमा काम गर्नका लागि आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताए।