बाजुरामा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका– ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा बढी मत पाइएको हो ।
प्रतिनिधिसभाको मतगणना गर्दा मुचुल्कामा भन्दा ४० मत बढी पाइएपछि अहिले मतगणना रोकिएको छ । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर थापाले पत्रकार सम्मेलन गरी यस केन्द्रमा पुनः मतदान गर्नुपर्ने माग गरेका छन् ।हिमाली गाउँपालिका– ६ कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेको गृहपालिका हो भने उनले यही केन्द्रबाट मतदान गरेका थिए ।
पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे अग्र स्थानमा छन् । पाण्डेले पाँच हजार तीन सय ९९ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार कर्णबहादुर थापाले चार हजार एक सय ३० मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेश सभाको भने मतगणना जारी छ ।