काठमाडौँ,कार्यकर्ता हत्याको उजुरीसहित प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच सर्लाहीको मलंगवामा बुधबार दिउँसो झडप भएको छ । झडपमा नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षकसहित २० जना प्रहरी र सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फका १७ जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर–७ सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाउँदै प्रदर्शन गरेको हो ।
हत्याको छानबिन र उजुरी लिन माग गर्दै परिवारसहित जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस नेता तथा कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठीचार्ज गरेको प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले बताए । उनले घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाए । ‘हत्या भएको घटनामा प्रहरीले जाहेरी लिन नमान्दा आज हामीले प्रदर्शन गर्दै परिवारका सदस्यसहित जाहेरी लिन आएका थियौं, तर प्रहरीले हामीलाई नै लखेट्यो, हाम्रा धेरै कार्यकर्ता घाइते छन्,’ उनले भने, ‘यो घटनामा प्रहरीको भूमिकामाथि नै शंका लागेको छ ।’
२१ गते बेलुका घर अगाडि बसिरहेका बेला राममाथि केही समूहले आक्रमण गरेको परिवारले बताएका छन् । आक्रमणमा परेर सख्त घाइते भएका रामलाई तत्कालै जिल्ला अस्पालमा पु¥याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा २२ गते अस्पतालमै रामको ज्यान गएको थियो । रामको शव पनि परिवारले बुझेका छैनन् । कांग्रेसले मृतक रामलाई सहिद घोषणा र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्नु पर्ने माग राखेको छ ।
प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले भने सिसौट घटनाको अनुसन्धान जारी रहेको र शंकास्पद ३ जनालाई पक्राउ गरिएको जनाए । उनले भीड नियन्त्रणका लागि केही राउण्ड अश्रुग्यास प्रहार गरेको जानकारी दिए । ‘उहाँहरु भीड जम्मा पारेर अनुसन्धान प्रभावित गर्न खोज्नु भएको छ, हामीले संयमता अपनाएर भीड नियन्त्रण गर्न सफल भएका छौं, अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘घटनाको दोषीलाई कानुनी कारबाहीमा ल्याएरै छाड्छौं ।’