काठमाडौँ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनले नेपाली भूमि दुई किलोमिटर अतिक्रमण गरेको दाबी गरेको छ। केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीको संयोजकत्वमा गठित स्थलगत अनुगमन समितिले दिएको प्रतिवेदनको आधारमा कांग्रेसले चीनले नेपाली भूमी अतिक्रण गरेको दाबी गरेको हो।
बुधबार शाहीको प्रतिवेदनलाई आधार मान्दै कांग्रेसले हुम्लाको नाम्खा गाउँपालिका–६ चीनले नेपाली भूमि अतिक्रमण गरेको बताएको हो। शाही नेतृत्वको टोलीले ११ दिन लगाएर गरेको अध्ययन रिपोर्टमा गप्पुदोचामा नेपालले निर्माण गरेको झण्डै २ किमी सडक खण्डलाई चीनले अतिक्रमण गरेको उल्लेख छ।
त्यस्तै चीनले लोलुङजोङ्गमा निर्माण गरेका भौतिक संरचनाहरू नेपाली भूभागभित्र रहेको कांग्रेसले जनाएको छ। त्यहाँ चिनियाँ पक्षले ११ वटा नयाँ भवन बनाएको तथ्य यसअघि नै बाहिरिएको थियो। अध्ययन टोलीले लाप्चा भञ्जायंमा चिनियाँ पक्षले सीमोका रुपरेखा नै परिवर्तन हुने गरी १२ नं सिमा स्तम्भ को एलाइन्टमेन्ट पुरै परिवर्तन गरिएको गरेको जनाएको छ।
संयोजक शाहीका अनुसार चिनियाँ पक्षले अन्तराष्ट्रिय मूल्य मान्यता विपरीत करिव ६ महिना अघि मात्रै सीमा पुनःनिर्माण गरेको पाइएको जानकारी दिए।
त्यस्तै चीनले हिल्सा सिमामा रहेको (९) २ सिमा स्तम्भको विच रेखामा तारबार तथा गेट निर्माण गरेको, किट भन्ने स्थानमा रहेका सीमा स्तम्भहरू क्रमश ५(१) र ५(२) लाई तारबार गरी आफ्नो क्षेत्रमा राखेको, पुरानो ५(२) नंको स्तम्भलाई उखेली हाल एक लौटी नयाँ बनाएको कांग्रेसको दाबी छ।
अध्ययन टोलीले लिमीको टाकुल्ले चुचुरोमा रहेको ११, १० नं स्तम्भमा भने अतिक्रमण नभएको जनाएको छ।
चीनले सीमा अतिक्रमण गरेको सार्वजनिक भएपछि लगत्तै सरकारले त्यस्तै नभएको भन्दै बचाउ गरेको थियो। भने सिडियोसहितको प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन अझै सार्वजनिक गरेको छैन।
कांग्रेसले यसरी सीमा मिचिँदा पनि नेपाल सरकारले ‘मिचिएकै छैन’ भनेर ढाँटेको भन्दै आपत्ति जनाएको छ। उसले अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल सुरु गर्न आग्रह गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ।’
उनले चीनलाई तत्काल प्रोटेस्ट नोट पठाउन आग्रह गर्दै सार्वभौम मुलुकमाथि चीनले आक्रमण गरेको ठोकुवा गरेको छ। ‘आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ, शर्माले अगाडि भनेका छन्, ‘नेपाली कांग्रेस तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गर्दछ।’