काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । उनले तीनवटै तहलाई संघीयता कार्यान्वयनका लागि एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अबको प्राथमिकता स्थानीय सरकारको सवलीकरण गर्दै जनतामा सुशासन र विकासको अनुभूति गराउनु रहेको बताए । ’अबको हाम्रो प्राथमिकता संघीयता, लोकतन्त्रको आधारस्तम्भको रुपमा रहेको स्थानीय सरकारको सवलीकरण गरी नागरिकमा सुशासन र विकास अनुभूति गराउने हुनुपर्दछ । संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरू, अस्पष्टताहरूलाई थप स्पष्ट पार्दै संघीयताको सफल कार्यान्वयनका लागि अघि बढ्न हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले भने ।
संघीय सरकारले तदारुकता देखाई संघ, प्रदेश र स्थानीय तहलाई क्रमशः कानुन बनाउन तथा संघीयतालाई सहजीकरण गर्नुपर्ने खाँचो रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने‚ ‘पुराना कानुनहरूलाई संविधानअनुकूल बनाउन तथा निजी सेवा, शिक्षा, स्वास्थ्यलगायतका विषयहरूको कानुन तत्काल बनाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने स्थिति छ ।’
प्रधानमन्त्री देउवाले देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलो सरकार लगायतका सबै सार्वजनिक सेवाहरूलाई प्रभावकारी रुपमा सबै तहमा लागू गर्न आग्रह गरेका छन् । उनले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । स्थानीय तहले संरचनात्मक सुधार, सेवा प्रवाहका लागि नवीन प्रविधिको उपयोग गरी सेवाग्राही केन्द्रित योजना बनाई अगाडि बढेमा सुशासनलाई स्थानीय तहमा संस्थागत गर्न सकिने उनको भनाइ छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ को निर्वाचन तथा स्थानीय तहको गत वैशाखको निर्वाचनले मुलुकमा उत्तरदायी नेतृत्वको विकासलाई थप सबलीकरण गरेकाे प्रधानमन्त्री देउवाको भनाइ थियो ।रासस