काठमाडौं, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।ओलीलाई भेट्न महासचिव गुरुङ मंगलबार साँझ बालकोट गएका हुन् ।उनीहरुको बीचमा खास के कुरा भयो भन्नेबारे स्पष्ट खुल्न सकेको छैन । तर भेटका सम्बन्धमा महासचिव गुरुङले ओलीलाई बधाई दिन मात्रै गएको जनाएका छन् ।
गुरुङले ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको बताए ।‘उहाँ विजयी हुनुभएको छ,’ उनले भने, ‘उहाँलाई बधाई दिनमात्रै गएको हुँ ।’भर्खरै सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सुविधाजनक मत नआएपछि वामगठबन्धन गरेर सरकार बनाउने चर्चा चलिरहँदा गुरुङ र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।