काठमाडौं, मन्त्रिपरिषद् हेरफेर तथा तीन मन्त्री थपिएपछिको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । विहीबार (आज) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो । संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादवप्रसाद कोइरालालाई ल्याइएको छ । सामान्यबाट सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि सचिव कोइराला ओम्नीमार्फत् स्वास्थ्य सामग्री खरिदमा मुछिएका छन् ।
यता, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगका सरुवा गरिएको छ । उक्त आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंह सहरी विकास मन्त्रालयमा सरुवा भएका छन् ।
त्यस्तै प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ, भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी सरुवा भएका छन् । सिँचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा थरिएको छ । यस्तै, काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।
मन्त्रिपरिषद्का नयाँ सदस्यमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ थपिनुभएको छ । उहाँहरुलाई विहीबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।