सप्तरी,संविधानले हरेक नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा व्याख्या गरेको छ, तर विपन्न नागरिक सामान्य रोगको समेत उपचार नपाएर अकालमै मृत्युवरण गर्न विवश छन्। आर्थिक अभावका कारण उपचार नपाएर सप्तरीमा दुई सातामा एकै पालिकाका पाँच विपन्नको मृत्यु भएको छ । संविधानले नै हरेक नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा व्याख्या गरे पनि सामान्य रोगको समेत उपचार नपाएर कञ्चनरूप नगरपालिकामा दलित समुदायका पाँच युवाको मृत्यु भएको हो । मृत्यु हुने सबै ४० वर्षमुनिका छन् ।
कञ्चनरूप– १ का ३७ वर्षीय सुरज सदा बिरामी परेपछि परिवारका सदस्यले नजिकैको क्लिनिकमा पु¥याए । रगत र पिसाब जाँच गर्दा पेटमा पानी जमेको रिपोर्ट आयो । क्लिनिकका स्वास्थ्यकर्मीले थप उपचारका लागि विराटनगर वा धरानको अस्पताल लैजान सुझाव दिए । तर, साथमा रहेको दुई–तीन हजार क्लिनिकमै सकाएको परिवारलाई तत्काल थप उपचार खर्च जुटाउन असम्भव भयो । गाउँ–छिमेकमा चन्दा संकलन गरिरहेकै वेला १४ मंसिरमा सुरजले घरमै प्राण त्यागे ।
दुई महिनासम्म टाउको दुखेपछि बबिताले घरमै मृत्युवरण गरिन्
कञ्चनरूप नगरपालिका– ४ की बबिता पासवानका आमा र भाइ । अत्यधिक टाउको दुख्दा पनि आर्थिक अभावका कारण अस्पताल जान नसकेकी २६ वर्षीया बबिताको दुई महिनासम्म घरमै छटपटाएर ९ मंसिरमा मृत्यु भएको थियो । ‘चन्दा उठाएर भए पनि उपचार गर्न खोजेको हो, तर कसैले दिएन,’ आमा सीतादेवीले भनिन् ।
९ मंसिरमा कञ्चनरूपकै ४ नम्बर वडाकी २६ वर्षीया बबिता पासवानको उपचार अभावमा घरमै ज्यान गयो । दुई महिनादेखि टाउको दुख्ने समस्या भए पनि आर्थिक अभावमा उपचार गराउन नसक्दा छोरीको मृत्यु भएको आमा सीतादेवी पासवानले बताइन् । ‘छोरीले दुई महिनादेखि टाउको दुखेको सुनाएकी थिइन् । तर, पैसाको अभावका कारण उपचार गराउन कतै लैजान सकिएन,’ उनले भनिन्, ‘चन्दा उठाएर भए पनि उपचार गर्न खोजेको हो, तर कसैले चन्दा नदिएपछि अकालमै छोरी गुमाउनुप¥यो ।’
आर्थिक अभावकै कारण उनले वर्ष दिनअघि उपचार गर्न नसकेर श्रीमान् गुमाएकी थिइन् । सीतादेवीले भनिन्, ‘एक वर्षअघि उपचारकै अभावमा श्रीमान् भगत पासवानको मृत्यु भयो, अहिले छोरी पनि गुमाएँ । अब मसँग आठ वर्षका छोरा र २२ वर्षीकी छोरी छन् । मेरो पनि शारीरिक अवस्था कमजोर छ । दैनिक गुजारा चलाउनै मुस्किल छ ।’
श्रीमतीको नाकको फुली बेचेको पैसा सकिएपछि उपचार पनि रोकियो, घर फर्किएसँगै मृत्यु
कञ्चनरूप– ८ का चन्दु सदा खंगकी आमा, श्रीमती र छोरा । चन्दुको छातीमा समस्या देखिएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भयो । पत्नी कविताले नाकको फुलीसमेत बेचेर जुटाएको १७ हजार सकियो । त्यसपछि डाक्टरले ‘ठूलो अस्पताल लैजानू’ भने । तर, थप आर्थिक जोहो गर्न नसक्दा उपचार त्यहीँ रोकियो । ‘एक महिनासम्म घरमै राखेपछि ६ मंसिरमा उहाँ बित्नुभयो,’ कविताले भनिन् । पाँच वर्षअघि उपचार गराउन नसक्दा चन्दुका बुबाको पनि मृत्यु भएको थियो ।
४५ हजार सकिएपछि १६ दिनमा रेफर, राम्रो अस्पताल लैजान पैसा नभएपछि घरमै मृत्यु
कञ्चनरूप– ९ का भिखो खंगका श्रीमती र छोरा । कलेजोमा समस्या देखिएका भिखोलाई १६ दिनसम्म गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गरेपछि विराटनगर वा धरान रेफर भएको थियो । खसी बेचेको ३० हजार र छिमेकीबाट चन्दा उठाएको १५ हजार सबै त्यहीँ सकिएपछि परिवारसँग थप आर्थिक स्रोत भएन । भिखोकी पत्नी सीताले भनिन्, ‘थप पैसा जुटाउन चन्दा संकलन गर्दैगर्दा श्रीमान्ले घरमै प्राण त्याग्नुभयो ।’
नजिकको सरकारले पनि नदेखेझैँ ग¥यो नागरिक मरिरहेको
सिंहदरबारले नागरिकका दुःख देख्न सकेन भनेर घर–आँगनमै सिंहदरबार पु¥याइएको छ । तर, सामान्य उपचार नपाएर नागरिक मर्दा स्थानीय सरकारले पनि नदेखेझैँ गरिरहेको छ । सप्तरीका दलित अगुवा भोला पासवानले मुलुकमा तीन तहको सरकार भए पनि वास्तविक गरिब तथा सीमान्तकृत समुदायसम्म प्रत्यक्ष रूपमा पुग्न नसक्दा उनीहरू अनेक सरकारी सुविधाबाट वञ्चित भएको बताए । ‘उपचार नपाएर विपन्न दलितको भटाभट मृत्यु भइरहेको छ । तर, सबैभन्दा नजिकको स्थानीय सरकारले समेत नदेखेझैँ गरिरहेको छ,’ उनले भने ।
संविधान भन्छ– आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको छ । संविधानको धारा ३५ मा ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनिएको छ । त्यस्तै, जनस्वास्थ्य सेवा ऐन, २०७५ को परिच्छेद २ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्वका विषयमा व्यवस्था छ । ऐनका दफा ३ मा भनिएको छ, ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन ।’ सोही ऐनले नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोगलगायत सामान्य आकस्मिक अवस्थाका सेवालाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । तोकिएबमोजिमका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नु प्रत्येक स्वास्थ्य संस्थाहरूको कर्तव्य हो । तर, संविधान र ऐनले गरेका सामान्य व्यवस्थासमेत कार्यान्वयन नहुँदा सर्वसाधारणले अहिले पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएर ज्यान गुमाउनुपरेको छ ।
घरमै छटपटाउँदै केही बिरामी
मुसहर समुदायमा केही बिरामी आर्थिक अभावमा अस्पताल जान नसकेर घरमै छटपटाउँदै छन् । कञ्चनरूप– ८ का दमका रोगी ५५ वर्षीय छर्पु सदा उपचारविना घरमै छन् । परिवारले एकपटक विराटनगरको कोसी अस्पताल लगेको थियो । तर, भएको पैसा सकिएपछि घरमै ल्याएर राखेको छ । ‘दम बढ्छ, उच्च रक्तचाप पनि छ । उपचार गराउन अस्पतालले धेरै पैसा माग्छ । हामी गरिबले कहाँबाट पैसा ल्याउने ?’ छर्पुकी श्रीमती श्रीवतीदेवी सदाले भनिन्, ‘कोसी अस्पतालका डाक्टरले आइसियूमा राख्न दिनकै २० हजार मागेपछि घर फर्काएर ल्याएँ । पैसा नभएकै कारण हामीजस्ता गरिबले ज्यान गुमाउनुपरेको छ ।’ कोही गरिबीको बोझकै कारण मानसिक रोगी बनेका छन् । गरिबीले रोग निम्त्याएको छ, रोगको उपचार गर्न गरिबी बाधक छ । सोही वडाका ३० वर्षीय जुलुस सदा गरिबीकै तनावले मानसिक सन्तुलन गुमाएर घरमै थला परेका छन् । ‘एउटा मात्र छोराको मानसिक अवस्था नै बिग्रियो । उपचार गराउन पैसा छैन, मागेको ठाउँमा पनि सहयोग पाइनँ,’ बुबा ललित सदाले भने ।साभार नयाँ पत्रिकामा खवर छ।