काठमाडौँ — शक्ति बाँडफाँटले कांग्रेस र माओवादी केन्द्रबीच विवाद बढेर सत्ता गठबन्धनमा तिक्तता पैदा हुने आकलनसहित एमालेले वैकल्पिक गठबन्धन निर्माणको गृहकार्य गरिरहेको छ । सत्ता गठबन्धन भत्काएर आउने दलहरूसँग शक्ति बाँडफाँटमा उदार रहने रणनीतिका साथ एमालेले अनौपचारिक तहबाट कसरत थालेको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले निकट नेताहरूमार्फत माओवादी र एकीकृत समाजवादीसँग संवाद अघि बढाएका छन् । तर ती दललाई सहकार्यका लागि पहिला सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने सर्त अनौपचारिक रूपमा राखिएको छ । ‘सम्बन्ध सुधारका लागि भेटघाट भइराखेका छन् । पहिला त माओवादी अहिलेको गठबन्धनबाट बाहिरिनुप¥यो,’ एमालेका एक पदाधिकारीले भने, ‘त्यसपछि बल्ल सरकार गठन र शक्ति बाँडफाँटको विषयले प्रवेश पाउने हो ।’
फरक–फरक स्वार्थसहित वैकल्पिक गठबन्धन र शक्ति बाँडफाँटका सम्भावित विकल्पमाथि एमाले र माओवादीभित्र छुट्टाछुट्टै जोडघटाउ चलिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति बाँडफाँटमा कांग्रेसले सम्मानजनक व्यवहार नगरे विकल्प सोच्न सकिने बताइसकेका छन् । कांग्रेस वा एमाले जोसँग सहकार्य गरेर भए पनि पहिलो कार्यकाल आफैं प्रधानमन्त्री बन्ने दाहालको चाहना छ ।
सत्ता गठबन्धन कायम रहेसम्म केन्द्र र प्रदेश दुवैतिर आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने भएकाले एमालेको जोड गठबन्धन भत्काउनेमै छ । गठबन्धन भत्किए कांग्रेसलाई बहुमत नपुग्न सक्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वमा जसपा र राप्रपासहितको तालमेल थियो । प्रतिनिधिसभामा एमालेको ७८, राप्रपाको १४ र जसपाको १२ सिट छ । बहुमत १ सय ३८ पु¥याउन थप ३४ सिट चाहिन्छ । माओवादी थपिए १ सय ३६ सिट हुन्छ । एकीकृत समाजवादीको १० सिट पनि जोडिँदा बहुमत पुग्छ ।
माओवादी गठबन्धनबाट बाहिरिए ऊसहित एमाले, राप्रपा, जसपालगायत दल मिलेर सरकार बनाउन पहल हुने ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘पहिला पहल कसले गर्ने भन्ने छ । माओवादी हामीसँग संवादमा आए सकारात्मक ढंगले अघि बढ्छौं । तर यस्तो संवाद सुरुमा दोस्रो तहबाट हुनुपर्छ । यसका लागि केही प्रयास भइरहेका छन्,’ उनले भने ।
ओलीले माओवादीका महासचिव देव गुरुङमार्फत सत्ता गठबन्धन भत्काए सहकार्य गर्न सकिने सन्देश पठाइसकेका छन् । गुरुङले मंगलबार ओली निवास बालकोट पुगेर झन्डै दुई घण्टा छलफल गरेका थिए । ‘गठबन्धन भत्काए सहकार्य गर्न तयार छौं भनेर उहाँले सार्वजनिक रूपमा नै भन्दै आउनुभएको छ,’ गुरुङले भने । उनी माओवादीभित्र वाम शक्तिहरूबीचको एकतामा जोड दिँदै आएका नेतामध्येका एक हुन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले केही दिन अगाडि खुमलटार पुगेर माओवादी अध्यक्ष दाहालसँग सहकार्यका सम्भावित विकल्पमाथि छलफल गरेका थिए । उपाध्यक्ष पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरिसकेका छन् । स्रोतका अनुसार पौडेल ओली–दाहाल र ओली–नेपालबीच सम्बन्ध सुधारको पक्षमा छन् ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत नेताले विगतका ‘तीता अनुभव’ भुलेर वाम शक्तिहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । उपाध्यक्ष नेम्वाङले सम्पूर्ण प्रक्रियामा भाग लिने र सबै दलसँग छलफल गरेर अगाडि बढ्ने बताउँदै आएका छन् । ‘अहिलेको म्यान्डेटअनुसार सबै मिलेर अघि बढ्नुपर्नेछ । त्यसको मतलब सरकार नै बनाउनुपर्छ भन्ने छैन । तर लोकतन्त्रको मूल्यमान्यता अनुरूप अघि बढ्नुप¥यो,’ उनले भने, ‘त्यसका लागि हामी माओवादीसँग मात्रै होइन, सबै दलसँग संवाद गर्दै छौं, सम्पर्कमा छौं ।’ कान्तिपुर दैनिकमा खवर छ।