काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।
नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुन्छ ।’
गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ । तर ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस प्रवक्ता महत भन्छन्, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल हुन्छ ।’ आइतबारकै बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार वा बुधबार दलको चुनाव हुनेछ । आफूहरुको प्रयास पार्टी सभापतिकै नाममा सहमति जुटाउने भएको भन्दै कांग्रेस प्रवक्ता डा. महत भन्छन्, ‘सर्वसम्मत भए राम्रो, नभए लोकतान्त्रिक प्रक्रिया छँदैछ ।’
सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले पहिले सांसदहरुको सपथग्रहण हुनुपर्ने निष्कर्ष पार्टीको रहेको बताए । त्यसपछि अरु विषयमा छलफल गर्ने उनको भनाइ थियो । माओवादीको पदाधिकारी बैठक अनौपचारिक रुपमा मात्र भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारको नेतृत्वमा माओवादीको दाबी रहने बताए । तर, पहिले सपथग्रहण हुनुपर्ने पार्टीको निर्णय रहेको उनले सुनाए।