spot_img

गठबन्धन टुट्ने खतराःकांग्रेस र माओवादीविचकाे टकराप बढ्दाे,आज बेलुकासम्म सहमति जुटाइसक्नुपर्ने

spot_img

काठमाडौँ, नयाँ सरकारमा प्रधानमन्त्री को ? कांग्रेस सभापति शेरबहादुर देउवा कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ? सहमति बनाउन नसक्दा सत्ता गठबन्धन विघटनको डिलमा पुगेको छ । शनिबार बालुवाटारमा भएको बैठकमा पनि देउवा र दाहाल आ–आफ्नो अडानबाट पछि हटेनन् । अपराह्न ४ बजे बैठक बोलाइए पनि त्यसअघि नै एकअर्कालाई दबाबमा राख्न दुवै पक्षबाट सन्देश र संकेत आदानप्रदान भइरहे । दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन भनेर कांग्रेस सांसदहरूलाई सूचना गरिएको थियो । सांसद चन्दा चौधरीले सांसदहरूलाई फोन गरी बालुवाटार आउन निम्तो दिएकी थिइन् ।

प्रधानमन्त्री देउवा कार्यक्रममा उपस्थिति मात्र जनाएर सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीमा सहभागी हुन बाडेगाउँ गएका थिए । ‘प्रधानमन्त्री आफैंले भन्दा पनि आरजु (राणा) म्याडमले बोलाउनुभएको रहेछ । त्यसैले धेरै सांसद जम्मा हुनुभएन,’ एक सहभागीले भने, ‘आरजु म्याडमले सरकारको नेतृत्व कांग्रेसले छाड्न हुन्न, ३२ सिट ल्याएको माओवादीलाई कसरी प्रधानमन्त्री दिन सकिन्छ भनेर तपाईंहरू पनि बोल्नुप¥यो भन्ने निर्देशन दिनुभयो ।’अपराह्न ४ बजेको गठबन्धन बैठकमा दाहाल पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर गएका थिए । आफ्नोतर्फबाट उदार हुन नसक्ने मुद्दामा उनी गुरुङजस्तै नेताहरूलाई अघि सार्ने गर्छन् ।

पार्टीभित्रको दबाबका कारण पनि आफूले यसपालि सरकारको नेतृत्व छाड्न नसक्ने दाहालको दाबी थियो । उता देउवाले पनि पार्टी पंक्तिलाई नै देखाएर पहिलो पालो आफूलाई दिन आग्रह दोहो¥याएका थिए । ‘ठूलो दलले सरकारको नेतृत्व छाड्न हुन्न भन्ने पार्टीभित्र दबाब छ । छाड्दा पार्टीमा समस्या हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘प्रचण्डजीको बोली पनि त्यस्तै थियो । आफूहरूको सहयोगमा डेढ वर्ष कांग्रेसले सरकार चलाइसकेको अवस्थामा यस पटक माओवादीले नेतृत्व नपाए गठबन्धनमा बस्न पार्टीभित्र समस्या हुन्छ भन्ने उहाँको भनाइ थियो ।’पाण्डेका अनुसार समझदारीका लागि कोसिस भइरहे पनि प्रस्ट संकेत देखिएको छैन । ‘विवाद भनेको देउवा र दाहालबीच को पहिला प्रधानमन्त्री हुने भन्ने मात्रै हो,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसको अडान यथावत् छ, कांग्रेसले राष्ट्रपति लिनैपर्ने हो भने प्रधानमन्त्री छाड्नुपर्छ । दुवै मुख्य पद एउटै पार्टीले लिएर कसरी गठबन्धन कायम हुन्छ ?’

नेताहरू टसमस नभएपछि आइतबार बिहान १० बजे बैठक बोलाइएको छ । गठबन्धनको प्रधानमन्त्रीमा दाबी लिएर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको सीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ । दुवै नेताका अडान हेर्दा तत्काल सहमति हुने सम्भावना निकै कम छ ।

बालुवाटार स्रोतका अनुसार कांग्रेस सभापति देउवाले पहिलोपल्ट सरकारको नेतृत्व लिन दुईवटा विकल्प अघि सारेका छन् । पहिलो विकल्पमा देउवा, दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल तीनै जनाले आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सारेका छन् । कांग्रेस र माओवादीले दुई÷दुई वर्ष नेतृत्व लिएर चार वर्षपछि चुनावी सरकारको नेतृत्व नेपाललाई दिने उनको प्रस्ताव छ । राष्ट्रपति र सरकारको नेतृत्व दुवै कांग्रेसले पाउने आसमा देउवाले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

बालुवाटारमा भइरहेका वार्तालाई एमालेले चनाखो भएर हेरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालको निर्देशनमा दोस्रो तहका नेताहरू निरन्तर संवादमा छन् । गठबन्धन भत्काएर आए दाहाललाई प्रधानमन्त्री दिन सकिने आश्वासन एमालेले दिएको छ । त्यसो त माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, महासचिव गुरुङ र उपमहासचिव पुनले वामपन्थी सरकारको पक्षमा बोल्दै आएका छन् । तर, माओवादी अध्यक्ष दाहालले समयमा निर्णय नगरेकाले पाउन सक्ने प्रधानमन्त्री पद पनि गुमाउने निश्चितजस्तै भएको एमाले अध्यक्ष ओलीको भनाइ छ । ‘म देख्छु पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर मलाई लाग्छ, उहाँले ढिलो गर्नुभयो, निर्णय गर्न ढिलो गर्नुभयो,’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा हुन चाहनुभएन ।’

ओलीको भनाइलाई दाहालले ताकेताका रूपमा लिएका छन् । ‘अहिले (शनिबार राति १० बजेसम्म) को अवस्था हेर्दा देउवासँग समझदारी बन्ने सम्भावना छैन । तर, गठबन्धन यही रहे सहज हुन्थ्यो भन्ने अहिले पनि लागिरहेको छ, त्यसैले भोलि बिहान १० बजे अध्यक्ष (दाहाल) बालुवाटार जानुहुन्छ, सहमति भएन भने एमालेसँग निर्णायक वार्ता हुन्छ,’ दाहालको सचिवालयका एक नेताले भने । त्यसो त देउवा र ओलीबीच पनि दूतहरूमार्फत संवाद भइरहेको छ । तर, एमालेका एक नेताले भने, ‘कांग्रेसलाई हामीले पनि प्रस्ताव पठाएका हौं तर प्रतिक्रिया आएको छैन ।’ कान्तिपुर दैनिकमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img