काठमाडाैँ,भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीबासीले छोरा तिहार मनाएका छन्। नेपालमा अन्यत्र कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा धुमधामका साथ मनाइएको हो। यस दिन बिहानै आमा र छोरा दुबैले नुहाइधुवाई गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा फुलको माला लगाइदिएर सगुनको रुपमा घरमा बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारहरु खुवाउने प्रचलन छ।
टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति, दीर्घायु र प्रगतीको कामना गर्दै आशिर्वाद दिइन्छ। छोराले पनि आमाको हातबाट टीका र आशिर्वादपछि दक्षिणाको रुपमा सक्दो पैसा, धोतीचोलीजस्ता कोशेली दिएर गोडामा ढोक्ने चलन छ।जिल्ला बाहिर रहेका छोराहरु पनि आमाको हातबाट टीका थाप्न आजको दिन जसरी पनि घर पुग्ने गर्छन्। काम विशेषले घर पुग्न नसक्ने छोराहरुले फोनलगायतका माध्यमबाट आशिर्वाद लिने र आमाले छोराका लागि बनाएको कोशेली छुट्याएर राखिदिने गरिन्छ।
छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर तथा गाँउबस्तीहरुमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ। यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायत सार्वजनिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट (पाठीभात) वनभोज जाने गरिन्छ।
यस दिन महिलाहरु पनि सार्वजानिक स्थलहरुमा भेला भएर चुट्कीला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिर व्यथा साटासाट गर्ने गर्छन्। यस तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठ मन्दिरमा गएर पुजारीको हातबाट टीका अक्षता लगाएर मनाउने गर्छन्। परापूर्वकालदेखि मनाउँदै आएको भएपनि यो तिहारको रौनक पछिल्लो समय घट्दै गएकाे स्थानीयहरूकाे भनाइ छ।