काठमाडौं,गृह मन्त्रालयले कोरोना भाइरसको महामारी भएकाले यस वर्ष जो जहाँ छौँ त्यहीँ बसेर चाडपर्व मनाउन आग्रह गरेको छ। ‘चाडपर्वको समयमा भिडभाड हुने र यसले संक्रमण झनै फैलिने डर भएकाले जो जहाँ छौँ त्यहीँ बसेर यस पटकका चाडपर्व मनाऊँ।’ गृहमन्त्रालयले भनेको छ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड–१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दूरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा सावुनपानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने जस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको हुँदा कोभिड–१९ को संक्रमण बढ्ने गरी अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छौं त्यहीँ बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्नरगराउन सम्पूर्ण दिदीवहिनी तथा दाजुभाई समक्ष गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’
गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई बिदा नबस्न र जिल्लाको शान्ति सुरक्षा स्थापनाको काम गर्न यसअघि नै निर्देशन गरिसकेको पनि जानकारी दिएको छ।
‘निकट रहेको बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्नजाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्नरगराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ।’ विज्ञप्तिमा भनिएको छ।
साथै चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिइसकेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले कोभिड–१९ संक्रमणको कारण सिर्जित बर्तमान विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्नरगराउन र शान्ति सुव्यवस्था कायम गर्नरगराउन सदाझैं निरन्तर पृष्ठपोषण, सहयोग तथा समन्वयका लागि अनुरोध गरेको छ।