काठमाडौँ, प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् । उनले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।
यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका हुन् । दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको छ ।
शीतल निवासमा आइतबार साँझ दाहालले प्रधानमन्त्रीका लागि दाबी पेस गरिरहँदा सात दलका शीर्ष नेताहरूसहितका नेताहरू पनि उपस्थित छन् । शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि
यसवाहेक स्वतन्त्र सांसद अमरेश सिंह पनि शीतल निवासमा पुगेका थिए । नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिउँसो नै एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर आफू प्रधानमन्त्री बन्न नयाँ सहमति जुटाएका थिए । यसका लागि सातै दलका शीर्ष नेताहरू बालकोटस्थित ओली निवासमा नयाँ सहमति जुटाएका हुन् ।
उक्त सहमति अनुसार आगामी साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने र त्यसपछिको बाँकी कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो। यदि सात दलहरूको सहमति अनुसारको नयाँ गठबन्धन बनेको खण्डमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपा मात्रै सरकार बाहिर रहने अवस्था देखिनेछ ।