काठमाडाैँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । सोमबार आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । थप १७ मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था छ । अधिवेशन आह्वान भएसँगै नवनियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा ७६ (४) मा उपधारा २ बमोजिमको प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
प्रचण्ड ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डलाई एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र गरी एक सय ६९ सांसदले समर्थन गरेका छन् । माओवादी नेताहरूका अनुसार प्रतिनिधिसभाको बैठक बसेलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने प्रचण्डको योजना छ । ‘सम्भवतः प्रतिनिधिसभाको दोस्रो बैठकमा कमरेड प्रचण्डले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्रै बाँकी कामहरू अघि बढ्छन्,’ माओवादीका एक नेताले भने । संसद् अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद् विस्तार हुने माओवादी उपमहासचिव शक्ति बस्नेतले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । मन्त्रिपरिषद् विस्तारलगायत शक्ति बाँडफाँडको विषय सातदलीय सत्तागठबन्धनका अध्यक्षस्तरीय संयन्त्रमार्फत टुंग्याउँदै जाने नेताहरूको सहमति छ । एमाले सचिव रघुवीर महासेठले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने बताए ।
राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । तीन उपप्रधानमन्त्रीसहित माओवादीबाट एक, एमालेबाट चार, रास्वपाबाट एक र जनमत पार्टीबाट एकजना मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राप्रपा र जसपा सरकारमा सहभागी हुँदा २५ मन्त्रालयमध्ये एमालेले बढीमा नौदेखि १०, माओवादीले बढीमा ६ देखि सात मन्त्रालय लिने गरी छलफल भएको छ । त्यस्तै, रास्वपा दुई, जसपा दुई, राप्रपा दुई, नागरिक उन्मुक्ति एक, जनमत एक र स्वतन्त्र समूहलाई एक मन्त्री दिने उनीहरूबीच सामान्य छलफल भए पनि टुंगिइनसकेको एक नेताले बताए ।
रास्वपाका अध्यक्ष लामिछानेले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाएकाले दुईवटा मन्त्रालयमै मनाउने कोसिस छ । तर, रास्वपा र जसपाले कम्तीमा तीन–तीनवटा मन्त्रालय दाबी गरेको स्रोतले जनाएको छ । राप्रपा सरकारमा सहभागी हुने अवस्थामा तीन मन्त्रालय दाबी गर्ने तयारीमा छ । सरकारमा मन्त्री बन्न सत्तारूढ दलहरूमा दर्जनौँ सांसद आकांक्षी देखिएका छन् । नयाँ सरकार बनेसँगै मन्त्री बन्न सांसदहरूले दौडधुप र शीर्ष नेतृत्वसँग लबिङ गरिरहेका छन् ।
एमालेमा दर्जन नेता दौडमा, प्रत्यक्ष सांसद प्राथमिकतामा
सत्तागठबन्धनको सबैभन्दा ठूलो दल एमालेमा मन्त्री बन्न एक दर्जन नेता दौडमा छन् । एमालेले प्रत्यक्ष निर्वाचित सांसदलाई मन्त्रीमा प्राथमिकतामा राखेको छ ।राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्ने आधारमा एमालेले नौदेखि ११ वटासम्म मन्त्रालय पाउने सम्भावना छ । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा चारजना सरकारमा सहभागी भइसकेका छन् ।
मन्त्री बनेका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राईको मन्त्रालयको जिम्मेवारी अझै टुंगो लागेको छैन । उनीहरूले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्रै एमालेबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरूको टुंगो लाग्ने सचिव रघुवीर महासेठले बताए ।
माओवादीमा कम्तीमा १२ सांसद मन्त्रीको आकांक्षी
यस्तै, माओवादीमा कम्तीमा १२ सांसद मन्त्रीको आकांक्षी छन् । प्रत्यक्ष निर्वाचित अधिकांश, केही समानुपातिक र राष्ट्रिय सभा सदस्यले पनि मन्त्रीका लागि लबिङ गरेका छन् । माओवादीबाट वर्षमान पुन, शक्ति बस्नेत, महेन्द्र यादव, रेखा शर्मा, हितराज पाण्डे, महेन्द्र शाही, अमनलाल मोदी, सुदन किराती, हितबहादुर तामाङ, माधव सापकोटा, सूर्यमान दोङ र हरि चौधरी आकांक्षी देखिएका छन् । पुन रोल्पाबाट निर्वाचित सांसद हुन् । पार्टीमा उनी उपमहासचिव छन् । उनी पूर्वमन्त्री हुन् । उनले शान्ति तथा पुनर्निर्माण, अर्थ, ऊर्जा मन्त्रालय सम्हालिसकेका छन् । उनले उपप्रधानमन्त्रीसहित गृह वा अर्थ मन्त्रालयको जिम्मा लिन चाहेका थिए । तर, माओवादीबाट उपप्रधानमन्त्रीको हैसियतमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी भइसकेका छन् ।
बस्नेत जाजरकोटबाट निर्वाचित सांसद हुन् । पार्टीमा उनी उपमहासचिव छन् । उनी पनि पूर्वमन्त्री हुन् । उनले गृह, स्वास्थ्य र वन मन्त्रालय सम्हालिसकेका छन् । उनले यसपटक अर्थ मन्त्रालयको जिम्मेवारी लिने चाहना राखेका थिए । तर, अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल नियुक्त भइसकेका छन् ।
यस्तै, मन्त्रीको आकांक्षीमा रहेका यादव माओवादीको चुनाव चिह्न लिएर निर्वाचन जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष हुन् । चुनावी तालमेल गरेकाले नेसपाले भाग पाए उनी मन्त्री बन्ने सम्भावना रहनेछ । उनी पनि पूर्वमन्त्री हुन् ।
शर्मा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेर दाङ २ बाट निर्वाचित भएकी हुन् । उनी माओवादीकी स्थायी समिति सदस्य हुन् । उनी पनि पूर्वमन्त्री हुन् । अर्का आकांक्षी पाण्डे समानुपातिक सांसद हुन् । उनी प्रमुख सचेतकको जिम्मेवारीमा छन् । उनी पनि पूर्व स्थानीय विकासमन्त्री हुन् ।
शाही कालीकोटबाट निर्वाचित सांसद हुन् । कर्णालीका पूर्वमुख्यमन्त्री शाही माओवादी स्थायी समिति सदस्य हुन् । उनी पनि पूर्वऊर्जामन्त्री हुन् । यसपटक पनि संघीय सरकारमा मन्त्री बन्ने उनको चाहना छ ।
मोदी मोरङ ४ बाट निर्वाचित सांसद हुन् । उनी तीनपटक सांसद भए पनि मन्त्री भएका छैनन् । किराती भोजपुरबाट निर्वाचित सांसद हुन् । तीनपटक सांसद बनेका किराती पनि हालसम्म मन्त्री बनेका छैनन् । तामाङ नुवाकोट १ बाट निर्वाचित सांसद हुन् । उनी पूर्वयुवा तथा खेलकुदमन्त्री हुन् ।
सापकोटा सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद हुन् । उनी पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । तत्कालीन सभामुख अग्नि सापकोटाले युवालाई संसद्मा ल्याउने भन्दै उम्मेदवार नबनेपछि सापकोटाले स्थान पाएका हुन् । दोङ काभ्रे १ बाट निर्वाचित सांसद हुन् । उनी पनि पूर्वराज्यमन्त्री हुन् । चौधरी राष्ट्रिय सभा सदस्य हुन् । उनी पहिलोपटक मन्त्री बन्ने आकांक्षामा छन् । उनले सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने भन्दै मन्त्री दाबी गरेका छन् । नयाँ पत्रिकामा खवर छ।