धनगढी, कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको तस्करले घेरा हाली हत्या गरेको खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनीहरूले हत्या गरेको स्विकारेका छन् । धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय रामगोपाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार सार्वजनिक गरेको हो ।
मटरको दाल गोरुगाडामा राखेर नेपालबाट भारततर्फ अवैध रूपमा ओसार्दै गरेको अवस्थामा धनगढी नजिकै मोहना घाट नाकामा तस्कर समूहसँग शनिबार राति प्रहरीको जम्काभेट भएको थियो । रातको समय चोरी तस्करी नियन्त्रणकै लागि गस्तीमा खटिएका असई विक र जवान साउदले रोक्न खोजेपछि तस्करहरूले उनीहरूलाई घेरा हाले । त्यसपछि पछाडिबाट धारिलो हतियार प्रहार गरेर दुवैको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीका डीएसपी प्रतीक विष्टले बताए । ‘पछाडिबाट धारिलो हतियार प्रहार गरी ढालेपछि असईले आफूसँग रहेको पेस्तोल चलाउनै पाएनन्,’ उनले भने, ‘तस्करहरूले घरेलु हतियार प्रहार गरेर पहिले साउद र त्यसपछि असई विकको हत्या गरेका रहेछन् ।’ पक्राउ परेकामाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको उनले बताए । थप व्यक्तिको समेत संलग्नता रहेकाले उनीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैको हत्यापछि राति नै उनीहरूले एक गोरुगाडा मटर भारतीय गाउँ सलियापार पु¥याएका र त्यहाँबाट फर्केर शवलाई नदीमा गाडेका थिए । भारतमा केही समययता मटरको माग बढेको छ । तस्करहरूले विभिन्न नाकाबाट भारततर्फ अवैध रूपमा मटर निकासी गर्ने गरेका छन् । शनिबार राति ११ बजेदेखि ती प्रहरी सम्पर्कविहीन थिए । खोजतलासका क्रममा प्रहरीले असई विकको शव आइतबार बिहान मोहना नदीभित्र फ्याँकिएको अवस्थामा फेला पारेको थियो । अर्का बेपत्ता जवान साउदको शव मंगलबार मोहना नदीको पानीभित्र बालुवामा गाडिएको अवस्थामा फेला प¥यो । ‘पक्राउ गरिएका एक अभियुक्तलाई घटनास्थल लगेपछि शव गाडिएको ठाउँ पहिचान गरिएको हो,’ एक प्रहरी अधिकृतले भने ।
तीन महिनाअघि सरुवा भएर जुगेडा चौकीमा खटिएका असई विक चोरी तस्करी नियन्त्रण गर्न सक्रिय रूपमा दिनरात खटिने गरेको उनका सहकर्मीहरू बताउँछन् । मोहना नदी वारपार गरी नेपाल र भारतबाट सामान तस्करी हुने गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थायी घर भएका विक चार वर्षअघि नेपाल प्रहरीमा प्रवेश गरेका थिए । भूमिहीन परिवारमा जन्मिएका उनका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन् । उनले ५ वर्षकै उमेरमा बुबा गुमाएका थिए । अर्का मृतक साउद अछामको बान्नीगढीजयगढ गाउँपालिका–५ का हुन् । कान्तिपुर दैनिकमा खवर छ ।