डाेल्पा,भेरी करिडोरअन्तर्गत पर्ने तल्नु बगर बेलिब्रिज निर्माणको काम सुरु भएको छ। नेपालगञ्जदेखि सिधै डोल्पा पुग्नका लागि महत्वपूर्ण मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम धमाधम सुरु भएको हो। सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का खुलाएर हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ४१ लाखमा पुल निर्माणको जिम्मा पाएको झण्डै एक वर्षपछि काम सुरु भएको हो। अघिल्लो बर्ष पुषमा निर्माण कम्पनीसँग सम्झौता भएपनि स्थानीयको अवरोध र बर्खाको समयमा भेरी नदी बढेपछि काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर दिलिप यादवले बताए।
दैनिक १५–२० जना कामदारसहित पुल निर्माणको काम धमाधम भइरहेकाले फागुनभित्र निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ। ‘पुल निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री निर्माणस्थलमा पुगिसकेको छ। वारीपट्टीको बेस बनेको छ, पारीपट्टीको बन्दै छ,’ यादले भने। रुकुम, जाजरकोट र डोल्पाका नागरिकको समस्यालाई मध्यनजर राख्दै निर्माणस्थलमा प्राविधिक नै खटाएर काम सुरु गराएको उनले बताए।
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ्ग, त्रिपुराकोटको बेलिब्रिज यसअघि नै निर्माण भइसकेको छ। तर, सँगै ठेक्का खुलाइएको रुपगार्ड खोलाको बेलिब्रिजको काम अझै सुरु हुन सकेको छैन्। टेण्डर भएको दुई बर्ष बितिसक्दा पनि रुपगार्ड खोलामा बेलिब्रिज नबनेपछि जीप, ट्रक, मोटरसाइकललगायतका सवारीसाधनहरु जोखिम मोलेर जिर्ण काठको पुलमा गुडिरहेकाछन्। ‘रुपगार्डमा दुबैतीर बेस बनेको छ। सामान पनि पुगेको छ, तर पुल जोड्ने काम भएको छैन्। सवारीसाधन र सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्,’ मोतिपुरका स्थानीय अमर कठायतले भने। ठेक्का पाएको निर्माण कम्पनीले जतिसक्दो छिटो निर्माण सक्नुपर्ने उनको भनाइ छ।
यसअघि बेलिब्रिजका लागि बेस बनाउन लगाइएका स्थानीय कामदारले पैसा नपाएपछि उनीहरुले नै काम अवरुद्ध गरेको पाइएको सडक डिभिजन कार्यालाय चौरजहारीका इन्जिनियर दिलिप यादवले बताए। काम भएजत्तिको पैसा निर्माण कम्पनीले लिइसकेकाले कामदारलाई दिन बाँकी पैसा दिएर अन्य काम सुचारु गर्न ताकेता गरिरहेको समेत इन्जिनियर यादवले जानकारी दिए।
तल्नुबगर र रुपगार्डको बेलिब्रिज पुल निर्माण भएसँगै भेरी करिडो।अन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन्। यहाँ साना खोलामा समेत गरी अझै आठवटा पुल बन्न बाँकी छ। नयाँ पत्रिकामा खवर छ।