काठमाडौं, वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ ।विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ ।
अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने भक्तपुरस्थित वैदेशिक अध्ययन अनुमति शाखामा आफैँ उपस्थित हुनुपर्छ ।एनओसी लिनेको लाइन बढेपछि कम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेमी अनलाइन’ बनायो तर त्यसले भीड कम गर्न सकेको छैन ।
शिक्षा मन्त्रालयले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा लामो लाइन एनओसी वितरण गर्ने कार्यालयमै हुने गरेको छ। कतिपय विद्यार्थी विधि नजान्दा आवेदन भर्न सो शाखा पुग्ने गरेका छन् ।अहिले दैनिक एक हजार जनासम्मले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन्। आजको गोरखापत्र दैनिकमा खबर छ ।