प्रधानमन्त्रीको शुभकामना सन्देश : निशान छापको नक्सामा लिम्पियाधुरा गायब भएपछि मच्चिएकाे बबाल !
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दशैँको शुभकामना सन्देश दिँदा प्रयोग भएको निशान छापमा लिम्पियाधुराबिनाको नक्सा देखिएको भन्दै आलोचना भएको छ । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको निशान छाप प्रयुक्त शुभकामना सन्देश जारी गर्नुभएको हाे ।
शुक्रबार फूलपातीको अवसरमा सार्वजनिक गर्नुभएको उक्त सन्देशसहितको तस्वीरमा सबैभन्दा माथि निशान छाप र त्यसमुनि सन्देश लेखिएको छ । त्यहाँ भनिएको छ, ‘२०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।’ र, दायाँ साइडमा नमस्ते गरिरहेको प्रधानमन्त्रीको तस्वीर पनि छ ।
उक्त सन्देशमा प्रयुक्त निशान छापमा पुरानै नक्सा देखिएको छ । यसको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । जबकि प्रधानमन्त्री ओलीकै निर्देशनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी भएको थियो भने त्यसलाई निशानछापमा समावेश गरेर संवैधानिक मान्यता दिन संविधान संशोधन पनि भएको थियो ।
तर भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्त गोयल काठमाडौँ आएर प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेकै दुई दिनपछि भने ओलीकै शुभकामना सन्देशमा पुरानै निशान छाप देखिनु अचम्मलाग्दो कुरो भएको भन्दै आलोचना बढेको छ । उक्त सन्देशलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत नै यो सामान्य त्रुटि नभएको भन्दै आलोचना र व्यंग्य गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीको ट्वीट नै रिट्वीट गर्दै भन्नुभएको छ, ‘लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय पीएम नेपाल (मेन्सन) ? गम्भीर विमती दर्ज होस् !’
शर्माले थप भन्नुभएको छ, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’
केही समयअघि शिक्षा मन्त्रालयले नै तयार पारेकाे लिम्पियाधुरा र कालापानीसहितकाे नक्सा एवं क्षेत्रफल उल्लेखित पाठ्यसामग्री (स्वाध्याय पुस्तक)लाइ प्रधानमन्त्रीकै निर्देशनमा वितरण गर्न राेक लगाइएकाे थियाे । सुरूमा नक्सा संशाेधन गरेर राष्ट्रवादकाे चर्चामा छाएका प्रधानमन्त्री पछिल्लाे समय उक्त कदमबाट बिस्तारै पछि हट्न थालेकाे भन्दै टीका-टिप्पणी हुन थालेकाे छ ।
यसपटक पनि सुटुक्क काठमाडाैँ टेकेर बालुवाटारमै प्रधानमन्त्रीलाइ रअ प्रमुखले भेटेपछि त्यसैकाे प्रभावस्वरूप प्रधानमन्त्रीकाे पछिल्लाे शुभकामना सन्देशमा प्रयुक्त निशान छापमा देखिएकाे भन्दै टिप्पणी सुरू भएकाे छ ।
तर प्रधानमन्त्री सचिवालयले भने लिम्पियाधुरासहितकै नक्सा प्रयाेग भएकाे तर निशान छाप सानाे रूपमा राख्दा त्याे चुच्चाे नक्सामा नदेखिएकाे दाबी गरेकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निशान छाप र नक्साको आकार अत्यन्तै सानो भएकाले नेपालको पश्चिमी भागको चुच्चो नदेखिएको बताउनुभएकाे हाे ।