सुर्खेत, कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए । त्यस्तै, उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार,उर्जा तथा जलस्राेत विकास मन्त्रालय अन्तर्गत राज्यमन्त्रीमा नियुक्त भएकी छन्। डाेल्पाबाट प्रदेशसभा सदस्य रहेकी विश्वकर्मा पनि मन्त्रीमण्डलमा पर्न सफल भएकी हुन्।
त्यस्तै एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । तीनै चार नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । २८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रका मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।