काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
भेटमा सर्वोच्च अदालतको आदेशबाट पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद गुमेपछि गृहमन्त्रीको जिम्मेवारी कसलाई दिने भन्नेबारे पनि छलफल भएको थियो । यसका साथै फागुन २५ गते हुने भनिएको राष्ट्रपति निर्वाचनको विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन इच्छुक देखिएका छैनन् भने एमालेले रास्वपालाई नै गृहमन्त्री दिनुपर्ने बताउँदै आएको छ ।