काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण बैठकले थप दुई दिन पर्खिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मुकुल ढकालले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीसमेतको आग्रहमा दुई दिन पर्खिने निर्णय भएको बताए ।
दुई दिनमा पनि आफूहरुको माग सम्बोधन नभए त्यसपछि बैठक बसेर आवश्यक निर्णय गर्ने उनको भनाइ छ । रास्वपाले गृह मन्त्रालयमा रवि लामिछानेलाई फर्काउन माग गर्दै आएको छ भने प्रधानमन्त्री त्यसमा सकारात्मक छैनन् । यही विषयमा सहमति नजुटेपछि सरकारबाट बाहिरिने तयारीमा रहेको थियो । तर बैठकअघि दुबै नेताले फोनमार्फत दुई दिनको समय मागेसँगै रास्वपाले यो बीचमा छलफललाई निरन्तरता दिँदै दुई दिन पर्खिने निर्णय गरेको हो ।