काठमाडाैँ,शुक्रबार प्रहरीद्वारा चिकित्सक कुटिएको विरोधमा चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले चिकित्सक कुटिएको घटनाको विरोध गर्दै आइतबार देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण गर्नु दुःखद रहेको भन्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।
संघले स्वास्थ्य सेवा लिन आएका बिरामीलाई समेत अस्पताल पुग्न नदिएर सास्ती दिएको भन्दै विरोध गरेको छ । यस्तै, देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सेवाहरू ठप्प हुँदा पर्ने असरको जिम्मेवारसमेत नेपाल सरकार रहेको संघका महासचिव डा. बद्री रिजालले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए । उनले भने, ‘हातपात गर्नुले राम्रो देखिएन, त्यसैले छानबिन गर्नलाई निलम्बन गरेका छौं ।’