पूर्ण सार्की,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले दोस्रो मेयर कप तथा प्रजातन्त्र दिवस भव्य रुपमा सम्पन्न भएकाे छ । नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित दुइवटै कार्यक्रमहरु आइतबार विभिन्न कार्यक्रमका साथ भव्य रुपमा मनाइएको हो । एकसाता देखि नगरपालिकाले आयोजना गरेको दोस्रो मेयर कप तथा जिल्ला स्तरीय खुला भलिवल प्रतियोगिताको उपाधि वडा नं ५ ल्हाँकाे टिमले जितेकाे छ । खेल जितेसँगै १ लाख १५ हजार नगत,कप,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ।
त्यसैगरि द्वितीयस्थान हाँसिल गरेकाे वडा नं ६ फुल्चिङले ६१ हजार नगत सहित,कप,मेडल र प्रमाणपत्र पाएकाे छ । तृतीय स्थान हाँसिल गरेका वडा नं २ का युवाहरुले ४१ हजार नगत सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियाेगिताकाे उत्कृष्ट खेलाडीको उपाधि दशरथ पहाडीले जितेका छन् । त्यसैगरि उत्कृष्ट स्पाईकर भिम चलाउने र अनुशासित खेलाडीको रुपमा दमन थापा छनोट भएका छन् । प्रतिस्पर्धामा सहभागी टिम मध्ये कान्छो खेलाडी तथा स्पाइकरको रुपमा इन्द्ररुप डसाललाई छनोट गरिएको छ । विभिन्न स्थान हाँसिल गर्ने खेलाडीहरुलाई जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरु पुरस्कार हस्तान्तरण गरेका थिए ।
त्यसैगरि प्रजातन्त्र दिवसका अवसरमा स्थानीय कलाकारहरुले स्थानीय कला,संस्कृति झल्काउने नृत्य, देउडा, मागल, चुड्किला,नाटक प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख जनचन्द्र रोकायले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र दिवसका अवसरमा उत्कृष्ट कला संस्कृति प्रदर्शन गर्ने स्थानीय कलाकरहरुलाई धन्यवाद दिएका छन् । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तथा आफ्नो प्राचीन कला संस्कृति संरक्षण गर्ने व्यक्तिहरुलाइ नगरपालिकाले जुनसुकै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रममा नगरउपप्रमुख देबी घर्ती,वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु,राजनितीक दलका प्रतिनिधि तथा सर्वसाधारणको बाग्लो उपस्थिति रहेको थियो । नगरपालिका लगायतको सबैको सहयोगबाट दुईवटै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सफल भएको खेलकुद शाखाका कर्मचारी टिकादत्त न्यौपानेले जानकारी दिए ।


















