spot_img

पाँचदलीय गठबन्धन फेरी ब्युतिने संकेतः प्रचण्ड र ओलीविच निर्णायक वार्ता गर्ने

spot_img

काठमाडाैँ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक भेटवार्तामा व्यस्त रहे । माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले गरेको सबै भेट सरकारमा नभएका दलहरुसँग थियो । बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे । दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग वार्ता गरे । लगत्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुलाई भेटे । साँझ फेरि एकीकृत समाजवादी र जसपाका नेताहरुलाई भेटे ।

नेताहरुका अनुसार साँझ ६ बजे कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक बस्ने तयारी थियो, तर समय अभावका कारण भोलि शुक्रबार ८ बजेका लागि सारिएको छ । यो बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् ।

बिहीबार भएका छलफलहरुमा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने बताएको छ भने जसपाले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेको छ । छलफलहरुमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरुले भने सकारात्मक जवाफ दिने गरेका छन् । तर राष्ट्रपतिबारे निर्णय गर्दा कांग्रेसको पनि सहमति चाहिन्छ भन्ने गरेका छन् ।

‘हामीले राष्ट्रपति र जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ र, हामी एकअर्कालाई साथ दिन्छौं’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘माओवादीका नेताहरुले कांग्रेससहित बसेर सहमति खोजौं । सबै हामीले पाउनुपर्छ भन्दा नहोला, केही छाड्ने र केही लिने सोचका साथ छलफलमा बसौं भन्नुभएको छ ।’

कांग्रेस नेताहरु भने प्रचण्डले राष्ट्रपतिमा आफूहरुलाई बचन दिइसकेकाले माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति हुन नसक्ने बताउँछन् । बरु पावर शेयरिङमा नेपाललाई पनि सम्बोधन गर्न सकिने कांग्रेसका एक नेता बताउँछन् ।

बिहीबार भएको छलफलहरुमा सहभागी एकीकृत समाजवादीका एक नेता पनि आफूहरुको प्रयास अहिले पनि माधव नेपाललाई राष्ट्रपति बनाउने भएको, तर फरक परिस्थिति बने पनि तत्कालीन पाँचदलीय गठबन्धनमा रहने बताउँछन् ।

जसपालाई पनि संसदीय समितिको सभापति दिएर उपराष्ट्रपति आफैंसँग राख्ने माओवादीको चाहना छ । एक पदाधिकारी भन्छन्, ‘एकीकृत समाजवादीले खोजेको पावर सेयरिङ र उपराष्ट्रपतिमा जसपाको दाबीबारे भोलि थप छलफल होला ।’

औपचारिकताका लागि ओलीसँग सम्वाद

कांग्रेस नेतृत्वको गठबन्धनमा फर्किने तयारीमा रहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले भने औपचारिक रुपमा त्यसलाई स्वीकार गरेका छैनन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको बैठकमा बसेको तीन दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अझै छलफल जारी रहेको बताए । उनले भने, ‘छलफल चलिराख्या छ । भोलि एमाले अध्यक्षसँग पनि कुरा गर्छु ।’

तर भोलि विहान बस्ने चार दलको बैठकमा सहमति जुटे ओली र प्रचण्डबीच हुने सम्वाद औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको नेताहरु बताउँछन् । माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘हामी, कांग्रेस, जसपा, एकीकृत समाजवादी मिलेर जानुपर्छ भन्नेमा सहमत नै छौं । भोलि हुने छलफलले यसलाई औपचारिकता देला ।’

त्यो एमाले अध्यक्षले समेत बुझिसकेको भन्दै उनले प्रचण्ड–ओलीको भेट औपचारिक मात्र हुनेसक्ने संकेत गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् । बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताए ।

‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता गर्छु’, उनले भने । नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको पनि उनले बताए ।

प्रचण्डले त्यसअघि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्ने भएका छन् । हिजो सिंहदरबारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकोले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img