काठमाडौँ,नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) अशोक सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रको घटना यतिबेला छताछुल्ल भइसकेको छ । सिंहले राजीनामा दिएर पनि स्वीकृत भइसक्यो । यतिबेला सुरक्षा निकायमा जागिर खाएका अन्य धेरै कर्मचारीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे पनि प्रश्न उठिरहेको छ ।
सिंह लगायत अन्य प्रहरी अधिकारीको पनि नागरिकतामा उल्लेख भएका जन्म मितिका विवाद बाहिर आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा निकायहरु प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गर्ने तयारी गरेको छ ।
तत्काललाई डीआइजी सिंहविरुद्ध उजुरी आएपनि त्यही उजुरी उपर अन्य प्रहरी अधिकारीका नागरिकताका बारेमा प्रश्न उठेपछि आयोगले सम्बद्ध अधिकारीका शैक्षिक प्रमाणपत्र र नागरिकताका बारेमा विवरण माग्ने तयारी गरेको हो ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सिंहको उजुरी उपर छानविन भइरहेको बताए । उनले भने, ‘अहिले सिंहको विरुद्ध उजुरी आएपनि सुरक्षा निकायमा धेरैको शैक्षिक प्रमाणपत्र र नागरिकताबारे प्रश्न आइरहेका छन् । ती सबैको छानविन गर्नुपर्ने देखिन्छ । आयोग यसबारे गम्भीर छ ।’
नेपाली सेनाको हकमा सैनिक अदालतले हेर्ने भएपनि अन्य सुरक्षा निकायको सम्बन्धमा अख्तियारले उजुरी अनुसार छानविन गर्नेछ । स्रोतका अनुसार सञ्चारमाध्यममा आएका विषयमा आयोगले छानविन गर्न चाहेमा गर्न सक्नेछ ।
यसका लागि आयोग आफैं अग्रसर हुनुपर्ने देखिन्छ । अख्तियारमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘डीआइजी सिंहको बारेमा जे जति सूचना बाहिरिए पनि अन्य प्रहरी अधिकृतका पनि नाम आएका छन्, आयोगले चाह्यो भने सबैको छानविन गर्नसक्छ ।’