काठमाडौं,आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । त्यसअघि नामिबियाविरुद्धको दुई खेलमा यूएईले एक खेल मात्र जितेको थियो ।
सिधा हेर्दा अहिले नेपालले लगातार पाँच खेल जितेर लयमा छ । यूएई भने पछिल्ला खेलहरुमा संघर्ष गरिरहेको छ । लिग टु को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ । नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । उता यूएई पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।
हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । त्यसैले आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ।नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ ।
नेपालले लिग टु मा दोस्रो पटक यूएईसँग खेल्न लागेको छ । लिग टु मा नेपालले यसअघि यूएईलाई हराएको छैन । गत मार्चमा यूएईमै भएको लिग टु को दुवै खेलमा नेपाल पराजित भएको थियो । कम लक्ष्य पछ्याउँदा पनि नेपाल यूएईविरुद्ध पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
नेपालले यूएईसँग पछिल्लो पटक घरेलु मैदान कीर्तिपुरमै तीन खेलको ओडीआई शृङ्खला खेल्दै २–१ ले जितेको थियो । पहिलो खेलमा पराजित भए पनि नेपालले पुनरागमन गर्दै त्यसपछिका दुई खेल लगातार जितेर शृङ्खला कब्जा गरेको थियो । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले दोस्रो खेल ३ विकेट र तेस्रो खेल ६ विकेटले जितेको थियो ।
समग्रमा नेपालले यूएईसँग ९ खेल खेल्दा ४ खेल जितेको छ भने ५ खेलमा पराजित भएको छ । मोन्टी देसाइको आगमनपछि हयाप्पी ड्रेसिङ रुम मन्त्रसहित आत्मविश्वासी बनेको नेपाली टिमको ब्याटिङ लय अहिले राम्रो देखिएको छ । आवश्यक परेको बेला जुनै खेलाडीले पनि जिम्मेवारी लिँदै प्रदर्शन गरिरहेका छन् । अघिल्लो खेलमा पपुवा न्यु गिनीविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । अर्धशतकबाट चुके पनि आसिफ शेखले ४४ रन जोडेका थिए ।
यस्तै बलिङमा गुल्शन झाले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । लेफ्ट आर्म फास्ट बलर प्रतिश जिसीले त्यही खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरे । चार फास्टर खेलाएको नेपालका लागि सोमपाल कामी र करण केसीले नयाँ बलमा राम्रो बलिङ गरेका थिए । यस्तै टिममा पुनरागमन गरेका आरिफ शेखले पनि राम्रो प्रदर्शन गरे । सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् ।
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनकैको स्थानमा सन्दीपलाई राखिएको छ । जसले गर्दा नेपालको स्पीन डिपार्टमा फाइदा पुग्नेछ । केही समयअघि घरेलु मैदानमा भएको शृखंलामा सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो रोजाइमा खेलेमा नेपालले तीन फास्टर बलर खेलाउनेछ । पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने लक्ष्यमा नेपाल छ ।
नेपाल–यूएईको हेड टु हेड
खेल ः ९
नेपाल विजयी ः ४
युएई विजयी ः ५
नेपाल युएई खेलको नतिजा
एसिया कप छनोट २०१८ अगस्ट ः यूएई ७८ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी ः यूएई ३ विकेटले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी ः नेपाल १४५ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी ः नेपाल ४ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च ः यूएई ४८ रनले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च ः यूएई ९९ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर ः यूएई ८४ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर ः नेपाल ३ विकेटले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर ः नेपाल ६ विकेटले विजयी