काठमाडाैँ,सैनिक अदालतले हिरासतमा राखिएका सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको छ । त्यस्तै, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनाको एक अवधि बढुवा रोक्का गरिने भएको छ ।
सैनिक मुख्यालय भद्रकालीस्थित अदालतमा बिहीबार भएको फैसलासँगै उपरथी शाही, महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना हिरासतमुक्त भएका छन् । उनीहरूलाई सेनाले परिवारको सदस्यलाई जिम्मा लगाएर घर पठाएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी शाहीलाई सेवाबाट अवकाश गर्ने तथा शाह र तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्ने फैसला भएको बताए ।
‘आर्थिक अनियमितता कसुर टुंगो लगाउन सैनिक अदालत गठन भएको थियो । अदालतले बिहीबार नै प्रेम शाहीलाई सेवाबाट हटाउने फैसला गरेको छ । उहाँको कसुर पुष्टि भएको छ । त्यस्तै, शाह र तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्ने भनिएको छ । तर, उहाँहरूलाई सेवाबाट बर्खास्त गर्ने भनिएको छैन । कारबाही सामान्य प्रकृतिकै भएको बुझेको छु,’ प्रवक्ता भण्डारीले भने ।
शाही गत २० पुसदेखि सैनिक हिरासतमा थिए । उनलाई सघाएको भन्दै १४ फागुनमा शाह र तिमल्सिनालाई पनि हिरासतमा लिइएको थियो । सेनाले उपरथी शाहीलाई आर्थिक हिनामिना गरेको अभियोग लगाएको थियो । अदालतले शाहीमाथिको अभियोग पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ । शाहीलाई सहयोग गरेको भन्दै सैनिक विद्रोह (मटिनी)को अभियोग लगाइएका महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिनालाई भने अदालतले सैनिक ऐनअन्तर्गतको सामान्य कसुर लगाउँदै बढुवा रोक्का गर्ने फैसला भएको छ ।
उनीहरूविरुद्ध अब फैसला गरिनुपर्ने कुनै कसुर नभएको हुँदा कानुनअनुसार परिवारको जिम्मा लगाएर घर पठाइएको सैनिक प्रवक्ता सहायक रथी भण्डारीले बताए । उनले भने, ‘उहाँहरूविरुद्ध अनुसन्धान गर्नुपर्ने र फैसला हुनुपर्ने कुनै कसुर छैन । अदालतले सबै विषय टुंगो लगाएको छ । त्यसो हुँदा उहाँहरूलाई कानुनअनुसार परिवारको जिम्मा लगाउने काम भएको छ ।’
सेनाले मुद्दा फैसलाका निम्ति उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा सैनिक अदालत गठन गरेको थियो । यसअघि अभियोगका सम्बन्धमा अनुसन्धान गर्न सेनाले कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो ।
यसरी सुरु भएको थियो विवाद
सेनाले उपरथी शाहीलाई १५ दिनअघि नै गत २० पुसबाट लागू हुने गरी अनिवार्य अवकाशमा जान पत्र दिएको थियो । तर, सेवाबाट अवकाश हुन अझै वर्ष दिन बाँकी रहेको दाबी गर्दै सेनाको पत्रविरुद्ध शाही सर्वोच्च अदालत गए । सर्वोच्चले २० पुसमा अवकाश दिने पत्र तत्काल कार्यान्वयन नगर्न सेनालाई आदेश ग¥यो । अदालतको आदेशपत्र बोकेर २० पुसमा जंगी अड्डा पुगेका शाहीलाई तत्कालै सैनिक प्रहरीले पक्राउ गरेका थियो । त्यसवेला शाहीलाई आर्थिक अनियमितता गरेको अभियोग लगाइएको थियो । पछि सोही मुद्दामा महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना जोडिएका थिए ।

















