काठमाडाैँ,चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ । एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिँदा १० दलीय गठबन्धनबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सर्वसम्मत उम्मेदवार तय गर्न नसकेपछि जसपाबाट दुई र जनमतबाट एकजनाले उम्मेदवारी दिएका हुन् । जसपाबाट रामसहाय यादव र प्रमिला यादवले मनोनयन दर्ता गराउँदा जनमतकी ममता झाले उम्मेदवारी दिइन् ।
निर्वाचन आयोगले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा खस–आर्य समुदायबाहेकको महिला हुनुपर्ने मापदण्ड तय गरेपछि जसपाले महिला र पुरुष गरी दुईजनाको उम्मेदवारी दर्ता गराएको हो ।
यद्यपि, गठबन्धनले आइतबार सहमतिमा एकल उम्मेदवार कायम गर्ने बताइएको छ । आइतबार अन्तिम नामावली प्रकाशन गर्ने र ३ चैतमा १० देखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।