काठमाडौं, ‘प्रेम गर्ने मान्छेहरूका लागि त रानीमहल तीर्थस्थल नै रहेछ।’एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रानीमहल प्रांगणमा भने । श्रीमती राधिका शाक्यसहित बुधबार बिहान ९ बजे पाल्पाको रानीमहल दरबार पुगेका ओलीले आफूलाई निकै आनन्द महसुस भएको सुनाए ।
यसअघि हेलिकोप्टरबाट हेरेको जानकारी दिँदै रानी महलमा प्रवेश गरेपछि पीर चिन्ता सब हराएको उनको भनाइ थियो ।‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ,’ ओलीले भने, ‘बाचुञ्जले मात्र होइन प्रेम मरेपछि पनि कायम राख्नुपर्ने रहेछ भन्ने सन्देश रानीमहल दरबारले दिएको छ ।’
पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै अध्यक्ष ओलीले प्रेमको सन्दर्भमा कुरा गरे । उनले युवायुवतीलाई कच्चा प्रेम नगर्न सुझावसमेत दिए । ‘सानोतिनो मनमुटावले सम्बन्ध तोड्नु राम्रो होइन,’ ओलीको सुझाव थियो । ओलीको सुझावमा साथ दिँदै पत्नी राधिका शाक्यले प्रेम सम्बन्ध राणा खड्गशमशेर र रानी तेजकुमारीको जस्तै बलियो हुनुपर्ने टिप्पणी गरिन् ।आजको राजधानी दैनिकमा खबर छ ।