डाेल्पा, नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रूरुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला, फोक्सुण्डो, साल्दाङ लगायतका ६ वटा नाउर ब्लगमा पुगेर गणना गरिने निकुञ्जको भनाइ छ । गणनाका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, चोरी सिकारी नियन्त्रण समिति, विश्व वन्यजन्तु कोषका प्रतिनिधि, हिउँचितुवा संरक्षण समितिसहितको ६५ जनाको टोली परिचालन गरिने जनाइएको छ ।
निकुञ्जको एक हजार तीन सय ६६ वर्गकिलोमिटर क्षेत्रमा पुगेर नाउर गणना गरिनुका साथै गणनामा जाने टोलीलाई विशेष तालिमसमेत दिइने बताइएको छ । करिब दुई हप्ता समय लगाएर नाउरको गणना गरी तीनदेखि चार महिनाभित्र संख्या सार्वजानिक गरिने निकुञ्जले जनाएको छ ।
अबको एक–दुई दिनभित्रै गणनाका लागि टोली हिँड्ने बताइएको छ । प्रत्येक वर्ष गरिँदै आएको नाउर गणनाले हिउँचितुवा तथा नाउर संरक्षणको वर्तमान अवस्था बुझाउनुका साथै कार्यालयलाई सोही अनुसारको सुरक्षा रणनीति अपनाउन सहयोग पुर्याउँने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
सन् २०१८ मा निकुञ्जको डोल्पा क्षेत्रमा दुई हजार सात सय दुई र सन् २०१९ मा चार हजार एक सय ३६ वटा नाउर गणना गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौडेलले बताए । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक र प्राविधिक सहयोगमा नावर गणना गर्न लागिएको हो ।
नावर गणनाले दुर्लभ वन्यजन्तु हिउँचितुवा र नाउरको संख्या आकलनमा समेत ठूलो सहयोग पुर्याउँने निकुञ्जले जनाएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज नेपालका अन्य संरक्षण क्षेत्रहरूभन्दा सबैभन्दा धेरै हिउँचितुवाको घनत्व भएको निकुञ्जको रूपमा समेत परिचित छ । नयाँ पत्रिकामा खवर छ ।