रामेछाप, ऋणले मान्छेको उठिवास लगाएका घटना धेरै छन् । कतिले त देहत्यागसमेत गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ मा त्यस्तै घटना घटेको छ । आपूmले विश्वास गरेका मान्छेले धोका दिएपछि र फुलासीका फत्तबहादुर कार्की ९४ वर्षको उमेरमा घर न घाटका भएका छन् । गाउँकै शिक्षक छत्रबहादुरको बदमासीले आफु सुकुम्बासी बनेका फत्तबहादुरको भनाइ छ ।
९४ वर्षको उमेरमा न्याय खोज्न हिंडेका फत्तबहादुरको दुःखको कथा सुरु तरकारी खेती गर्न कृषि विकास बैंकबाट लिएको ५ हजार रुपियाँ ऋणबाट । घर खर्च धानेर मात्रै सुख थिएन फत्तबहादुरलाई । दृष्टिविहीन श्रीमतीको उपचार पनि गर्नु थियो । दृष्टिविहीन श्रीमतीलाई घरमा छोडेर मजदुरी गर्न टाढा जाने अवस्था थिएन । बैंकको ऋण लिएर तरकारी र फलफूल खेती सुरु गरेका फत्तबहादुरले श्रीमतीको उपचार थप ३ हजार सापटी लिए गाउँकै ललितबहादुर पौडेलसँग ।
आम्दानी खासै बढेन । ऋण ८ हजार भयो फत्तबहादुर अत्तालिए । बैंकको ऋण, गाउँलेसँगको सापटी । तरकारी खेतीले गति लिएन । अनि गाउँमै काम खोज्न थाले । श्रीमावी हर्रेचिन्डे मावि फुलासीका शिक्षक छत्रबहादुर खड्काले काम दिए । गाउँकै ‘मास्टर साहेब’कोमा काम पाउँदा फत्तबहादुर दंग परे । छत्रबहादुरले उनलाई घरमा जोत्ने काम लगाए । स्कुल नजिकै किराना पसल पसल थियो । त्यही पसलको भारि बोक्ने काम दिए । सदरमुकामबाट भारी बोकेर पाँच घन्टा उकालो हिँडेपछि पसल पुगिन्थ्यो । प्रतिकेजी ५० पैसा ज्याला पाउँथे फत्तबहादुर । ‘पाँच घण्टाको उकालो बाटो १ सय २० केजीको भारी बोकेर आउँथे । त्यसको ज्याला ६० रुपियाँ पाउँथे,’ फत्तबहादुरले भने । आजको राजधानी दैनिकमा खबर छ ।