सरकार र निजी क्षेत्र मिलेर उत्पादन र रोजगारी वृद्धिमा जोड दिनुपर्छ, प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकार र निजी क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा जोड दिनुपर्ने बताएका छन्। सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्र मिलेर उत्पादन र रोजगारी बढाउनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलब्धी दिगो रहन नसक्ने बताए। उनले भने,’मुलुकभित्र मुख्यगरी आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलव्धि दिगो रहन सक्दैन भन्ने कुरा यसअघि अन्य मुलुकको उदाहरणबाट देख्थ्यौं,अहिले हामी आफैले भोगिरहेका छौं। यस सन्दर्भमा अबको बाटो भनेको सरकार र निजी क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्दछ। यसतर्फ चेम्बरको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु।’
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताए। परम्परागत सोंचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको उनको भनाइ छ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ’नेपाल सरकार आर्थिक वर्ष २०८०।०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ। सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून्।’
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -