काठमाडौँ — उपत्यकामा हुनुहुन्छ ? कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका रैथाने बाली चिनो र कागुनो खोज्दै हुनुहुन्छ भने अब खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री कक्षमा पाइन्छ । उपत्यकामा कम्पनीले बुधबारदेखि बिक्री सुरु गरेको हो । रैथाने उत्पादन प्रवर्द्धन गर्न हुम्लाको सिमकोट गाउँपालिका र कम्पनीबीच गत कात्तिक ७ मा खरिद सम्झौता भएको थियो । त्यसअनुसार गाउँपालिकासँग खरिद गरेर कम्पनीले पहिलो पटक चिनो र कागुनो उपत्यका भित्र्याएर बजारीकरण सुरु गरेको हो । कम्पनीले सिमी र फापर पनि ल्याएको छ ।
कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार सिमकोटसँगै अदानचुली, बाजुराको स्वामिकार्तिक खापर, दार्चुलाको अपि हिमाल, व्यास र मालिकार्जुन गाउँपालिकासँग पनि सम्झौता भएको छ । रैथाने बाली खरिद सम्झौताअनुसार चिनो, कागुनो, फापर, सिमी उपत्यका भित्र्याउन थालिएको प्रमुख थापाले बताए । ‘पहिलो लटमा चिनो १२ सय ३८ केजी, कागुनो ६० केजी, फापर १९ सय ५ केजी र सिमी १३ सय १८ केजी खरिद गरेका छौं,’ उनले भने, ‘प्याकेजिङ गरेर बुधबारदेखि बिक्री सुरु गरेका छौं ।’ कम्पनीले बिक्री मूल्य चिनो र कागुनोको प्रतिकिलो २ सय ६० रुपैयाँ राखेको छ भने फापर प्रतिकिलो १ सय ५० रुपैयाँ तोकेको छ । ‘लागत, ढुवानी भाडा, प्याकेजिङसहित खर्च जोड्दा खाद्यलाई नाफा छैन । किसानलाई प्रोत्साहन गर्नकै लागि खरिद गरेका हौं,’ उनले भने ।
रैथाने खाद्यान्न बाली किसानबाट गाउँपालिकाले खरिद गरेर कम्पनीलाई बेच्ने सम्झौता छ । हुम्लामा खाद्यको सिमकोट शाखा कार्यालयले गाउँपालिकाबाट खरिद गर्छ । गाउँपालिकाहरूले किसानलाई अनुदानसमेत दिएका छन् । चिनो र कागुनोमा प्रतिकिलो १० रुपैयाँ, सिमीमा ५० र फापरमा १० रुपैयाँ अनुदान किसानले पाउने व्यवस्था गरिएको छ । ‘हामीले गाउँपालिकासँग कागुनो र चिनो प्रतिकिलो १ सय ९० रुपैयाँका दरले खरिद गरेका छौं । उक्त मूल्यमा गाउँपालिकाले अनुदान थपेर किसानलाई प्रतिकिलो २ सय रुपैयाँ दिएको छ,’ प्रमुख थापाले भने, ‘सिमी र फापरको हकमा पनि उस्तै हो ।’ कम्पनीले प्रतिकिलो १ सय ५० रुपैयाँ खरिद गर्ने सिमीका लागि किसानले २ सय रुपैयाँ पाउने व्यवस्था छ । कम्पनीलाई खरिद मूल्य प्रतिकिलो ९० रुपैयाँ पर्ने फापरमा किसानले १ सय रुपैयाँ पाउँछन् । झट्ट हेर्दा किसानबाट सस्तोमा खरिद गरेर उपभोक्ता मूल्य बढी राखेको जस्तो देखिने भए पनि ढुवानी भाडा महँगो परेको थापाले बताए । उनले भने, ‘हुम्लाबाट सुर्खेतसम्म हवाई जहाजमा ल्याउँदा प्रतिकिलो भाडा ४५ रुपैयाँ पर्छ । सुर्खेतबाट फेरि ढुवानी गर्दा प्रतिकिलो ५ रुपैयाँ थपिन्छ । त्यसमा लोड–अनलोड र प्याकेजिङ खर्च जोड्दा बराबर हुन्छ । नाफा छैन ।’
हुम्लाको सिमकोट गाउँपालिकाका अनुसार रैथाने बालीको उत्पादन बढाउन गत वर्ष अनुदानमा ३० लाख रुपैयाँ वितरण भएको थियो । उक्त रकम दुई समूहमार्फत किसानलाई बाँडिएको थियो । अनुदान पाएर गरेको उत्पादन यसपटक बजार पु¥याउन सुरु भएको हो । हुम्लाका लेकाली भेगमा उत्पादित चिनो र कागुनो खाद्यान्न बाली हो । औषधीय गुण हुने यी खाद्यान्न मधुमेहका बिरामीका लागि गुणकारी मानिन्छ । उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बिक्री कक्ष राखेर चामल, दाल, तेल, पिठोलगायत बिक्री गर्दै आएको खाद्यले रैथाने बाली खरिद गर्नकै लागि यस पटक १ करोड १५ लाख रुपैयाँ छुट्याएको कम्पनीको वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् । हुम्लासँगै बाजुराबाट गहत र सेतो सिमी खरिद गर्ने योजना छ । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा कर्णाली प्रदेशका रैथाने बाली संरक्षण गर्ने घोषणा गरेको थियो । सरकारको नीतिअनुसार खाद्यले कर्णालीको उत्पादन खरिद सुरु गरेको हो ।
यसअघि २०७२÷७३ मा कर्णालीको उत्पादन किन्न सरकारले अनुदानसमेत दिएको थियो । खाद्यले पहिलो पटक सिमी र फापर उपत्यका ल्याएर बेचेको थियो । १२ क्वीन्टल सिमी जुम्लाबाट सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो । तर, कम्पनीले फापर भने बेच्न सकेन । खरिद २०७४÷७५ सम्म पनि भयो तर बिक्री भएन । सिमी, फापर गोदाममै थन्किएपछि सरकारले अनुदान रोकेको थियो । २०७८÷७९ बाट भने खाद्यले पुनः सिमी खरिद–बिक्री सुरु गरेको थियो । अहिले चिनो र कागुनो पनि खरिद–बिक्री थालेको हो । कान्तिपुर दैनिकमा खवर छ।