काठमाडौं,तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।
एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
यसअघि सर्वदलीय बैठकमा कांग्रेस एमालेका प्रतिनिधिले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई कारवाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाएका थिए । एमाले कांग्रेसको अडानपछि लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्पष्टिकरण सोध्ने र प्रमुख जिल्ला अधिकारीले मतपेटिकाको सुरक्षा जिम्मेवारी लिने सहमति भएको छ ।
मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् । सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेकोबारे साधिने स्पष्टिकरण केन्द्रमा लेखेर पठाउने पनि सहमति भएको छ।
बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकिएलगत्तै शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने भएको हो । मतगणनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन् ।