काठमाडौं,सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो ।
नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पु¥याउने घोषणा गरेको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रमहरुको सामञ्जस्यपूर्ण तरिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जाएर गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो प्रतिबद्धता गरेको हो ।
यस्तै, अर्थतन्त्रको समग्रमागमा आएको ह्रास, तरलताको संकुचन, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजश्व संकलन तथा बाह्य क्षेत्रमा परेको चापलाई समेत संबोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । यस्तै, सरकार र निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादन तथा उत्पादकत्व बढाउने र यसबाट रोजगारी सृजना गर्ने लक्ष्य समेत सरकारले लिएको छ ।
यस्तै, विदेशी लगानीलाई बढाउन लगानीको वातावरण सुधार गर्नुका साथै राजश्व प्रणालीलाई सुधार गर्दै अघि बढ्ने समेत राष्ट्रपति पौडेलले घोषणा गरे । विद्यमान कर प्रणाली सुधार गर्नुका साथै राजश्वको दायरा विस्तार, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक माध्यममा जोड्ने लक्ष्य समेत सरकारले नीति तथा कार्यक्रमबाट लिएको छ ।