तनहुँ, कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’ लाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो ।
व्यास नगरपालिका–८ सोतीबेसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रुपमा चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, ’यस वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ । बिक्री–वितरण सहजै भए खेती विस्तार गर्दै लैजाने योजना छ ।’
कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बीउ खरिदका साथै कृषकले बेसार राखेर उमाल्ने ड्रम, कुटानीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिनलगायत सामग्रीसमेत खरिद गरिसकेका छन् । समूहमा आवद्ध सदस्यले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात धोइपखाली गरी उमाल्ने, कुटानीपिसानी गरेर लेबल टाँस गरी अर्गानिक बेसारका रूपमा बिक्री गर्नेछन् ।

















