काठमाडौं, तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरूद्ध दायर रिटमा मंगलबार (आज) सुनुवाइ हुँदैछ।पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराई लगायत विरूद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।
त्यसमाथि मंगलबार सुनुवाइ हुन लागेको हो ।पूर्व बाल सेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन ‘जनयुद्ध’का सुप्रिमो प्रचण्ड, डा. भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्।
उनीहरूले विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बाल सेनाको पहिचानसमेत नभएकाले पहिचान दिई परिपूरण क्षतिपूर्तिको माग गरिएको छ।