काठमाडौं, मनसुन सुरु भएसँगै देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षा भएको छ। जसकारण केही जिल्ला बाढीबाट प्रभावितसमेत भएका छन्।
हेवा खोलाको बाढीले संखुवासभामा १७ जना बेपत्ता भएका छन् भने पाँचथरमा ५ जना सम्पर्कबिहीन भएका छन्। संखुवासभामा एक मजदुरको शवसमेत फेला परेको छ। अन्य केही जिल्लामा समेत बाढी पहिरो गएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
यस्ते, उनले विपत् क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा अपील पनि गरेका छन्।