काठमाडाैँ,गत ६ जेठमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएपछि पहिलोपटक गृहजिल्ला जान लागेका मन्त्री पृथ्वीबहादुर सिंहले घर नपुग्दै ज्यान गुमाए।
बझाङमा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीनजनाको निधन भएको छ । मंगलबार भएको दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको हो । दुईजना गम्भीर घाइते भएका छन् ।
डडेल्धुराबाट गृहजिल्ला बझाङको चैनपुर जाँदै गरेको मन्त्रीसवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडी जयपृथ्वी राजमार्गअन्तर्गत केरास्युँ गाउँपालिका– १ झारछडामा दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब ५० मिटर तल कालङा नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्री सिंहसहित तीनजनालाई हेलिकोप्टरबाट उपचारका लागि बेलुकी ५ बजे नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो । अस्पतालले साढे ५ बजेतिर मन्त्री सिंहलाई मृत घोषित ग¥यो । मेडिकल कलेजका निमित्त निर्देशक प्रा.डा. ढुण्डीराज पौडेलका अनुसार अस्पताल पु¥याउँदा मन्त्री सिंहको मुटुको घड्कनले काम गर्न छोडेको थियो भने नाडीको चाल थिएन । सिपिआर, डिस सक र कृत्रिम श्वासप्रश्वास दिइए पनि जीवित रहेको कुनै लक्षण नदेखिएपछि मृत घोषणा गरिएको पौडेलले बताए । मन्त्री सिंहको टाउको र छातीमा गम्भीर चोट देखिएको मेडिकल कलेजले जनाएको छ ।
मन्त्रीको स्कर्टिङमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरी सिंहसहित पाँचैजनालाई देउरास्थित रितु पोलिक्लिनिकमा पु¥याएको थियो । पोलिक्लिनिकबाट स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्र लगेपछि केन्द्रले मन्त्री सिंहकी पत्नी अमृता र भाउजू जयालाई मृत घोषित गरेको थियो ।
दुर्घटनामा गाडीचालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षागार्ड प्रहरी सहायक हवल्दार दीपक भण्डारी गम्भीर घाइते भएका छन् । मन्त्रीसँगै हेलिकोप्टरबाट नेपालगन्ज पु¥याइएका दुवैजनाको आकस्मिक कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको कोहलपुर मेडिकल कलेजले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मन्त्रीसवार गाडी सडकबाट अचानक तल खसेको बुझिएको र दुर्घटनाको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । करिब ५० मिटर तल खसेको गाडी कच्याककुचुक भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । धनगढीबाट मन्त्री सिंहसँगै उनका छोरा अभिषेक पनि बझाङ गएका थिए । अभिषेक मन्त्रीको गाडीको पछाडि अर्को गाडीमा सवार थिए । अगाडि स्कर्टिङमा रहेको प्रहरी र अर्को गाडीमा रहेका अभिषेकसहितको टोलीले दुर्घटनाग्रस्त गाडीबाट मन्त्रीसहित सबै घाइतेलाई निकालेका थिए । सुरक्षा स्रोतका अनुसार मन्त्रीसहित तीनैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।
मन्त्री सिंह गत चुनावमा कांग्रेसबाट बझाङको प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भएका थिए । मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेपछि गत ६ जेठमा सिंहले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका थिए । मन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका थिए । तर, घरसमेत रहेको सदरमुकाम जयपृथ्वी नगरपालिका नपुग्दै मन्त्री सिंह दुर्घटनामा परे ।
स्पष्ट वक्ता, सरल र शालीन स्वभाव भएका सिंह कांग्रेसका पुराना नेता हुन् । दुई कार्यकाल पार्टीको जिल्ला सभापति भएका सिंह कांग्रेसका कुशल संगठक मानिन्छन् । पार्थिव शरीर बुधबार बिहान ९ बजे धनगढीको खुलामञ्चमा राखिने भएको छ भने त्यसपछि गृहजिल्ला बझाङ लगिने बताइएको छ । अन्य दुईजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिममा आज शोक बिदा
दुर्घटनामा परी मन्त्री सिंहको निधन भएपछि सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीका अनुसार मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो । मन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्रीसवार गाडी दुर्घटनामा परेको थियो । नयाँ पत्रिकामा खवर छ।