spot_img

प्रधानमन्त्रीले संसदमा सुनाए ६ महिनाका उपलब्धिः भ्रष्ट्राचारीलाइ कानुनी दायरामा ल्याउने,अर्थतन्त्र गतिशील,मलको हाहाकार अन्त्य देखि पाठ्यपुस्तक समयमै गाउँगाउँ पुगेकाे जानकारी

spot_img

काठमाडाैँ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ६ महिनाको कार्यसम्पादन सन्तोषजनक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सरकारको ६ महिने उपलब्धि, सोच र गन्तव्य सुनाउँदै उनले कामले डिस्टिङसन नै पाउनुपर्ने ठानेको सुनाए ।

‘नम्बर कति आउँछ भविष्यले देखाउँछ । पास मात्रै होइन, मेरिटमै पास भइन्छ भन्ने लागेको छ,’ उनले भने, ‘६ महिनाको काममा मूलभूत रूपमा सन्तुष्ट भएकाले डिस्टिङसन नै पाउनुपर्ने ठानेको छु ।’

प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको बजेट कार्यान्वयनमार्फत उच्च आर्थिक वृद्धिको आधार तयार हुने विश्वास रहेको बताए । ‘आगामी बजेटबाट उत्पादन र उत्पादकत्व वृद्धि, देशभित्रै आय र रोजगारीका अवसरहरूको प्रत्याभूतिमा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘आउँदो वर्ष आर्थिक र सामाजिक पूर्वाधार निर्माण भई उच्च आर्थिक वृद्धिको आधार तयार हुने विश्वास छ ।’

प्रधानमन्त्रीले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उच्चपदस्थलाई समेत कारबाही गरेर सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको उनको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने स्थापित निराशावादी आममनोविज्ञान भत्काएर कानुन र लोकतन्त्रको सर्वोच्चता स्थापित गरेको प्रधानमन्त्रीको दाबी छ ।

असन्तोष र आक्रोशमा रहेका जनतामा भरोसा जगाएको, लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको पनि प्रधानमन्त्रीले बताए । ‘यो शुद्धीकरण अब रोकिनेछैन । प्रधानमन्त्रीनिवास नै निल्न खोज्ने ललितानिवास काण्डका अभियुक्त पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ । वर्षौँदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई संसद् र जनताको थप समर्थन चाहिएको छ,’ उनले भने । बेथितिको दुष्चक्र नभत्काएसम्म देश अगाडि बढ्न नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काई छाडिने विश्वास दिलाए ।

अर्थतन्त्र गतिशील
प्रधानमन्त्रीले पछिल्लो ६ महिने कार्यकालमा देश श्रीलंका बन्ने भयको सामना गरेर गतिशील अर्थतन्त्रको स्थितिमा पुगेको र तथ्यांकले नै सबैजसो आर्थिक सूचक सकारात्मक देखाएको बताए । पछिल्लो ६ महिनायता कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको, ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा पुगेको, कुल वस्तु व्यापार घाटामा १५.२ प्रतिशतले कमी आएको, विप्रेषण उल्लेखनीय रूपमा बढेको, पर्यटक संख्या दोब्बरले बढेको, बैंक दर र ब्याजदर घटेर वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार भएको र चुहावटलाई कडाइका साथ नियन्त्रण गरेपछि राजस्व परिचालनमा सुधार आएको उल्लेख गरे ।

विद्युत् प्राधिकरण र आयल निगम नाफामा गएका छन् भने वायुसेवा निगमको आर्थिक अवस्था पनि सुधारोन्मुख रहेको प्रधानमन्त्री प्रचण्डले सुनाए । ६ महिने उपलब्धिमा करिब ३५ अर्ब वैदेशिक सहायता सम्झौतामा हस्ताक्षर भएको, उद्योग क्षेत्रमा दुई सय ७४ परियोजनामार्फत करिब ३५ अर्ब नै वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको उल्लेख छ ।

त्यस्तै, लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि एक खर्ब ६७ अर्ब लगानी स्वीकृत भएको, आर्थिक सुधारकै परिणामस्वरूप कम्तीमा २० हजार थप रोजगारी सिर्जना गर्ने गरी दुई खर्ब पाँच अर्ब लगानीका दुई सय ८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको, उत्तरी नाकातर्फ रसुवागढी, हिल्सा, कोदारीस्थित अध्यागमन कार्यालय सञ्चालनमा आएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले यसबीचमा भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको, ४०८ मेगावाट विद्युत् उत्पादन क्षमता थपिएर थप तीन प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको, विद्युत्मा शतप्रतिशत जनताको पहुँच हुने सबै आधार तयार भएको बताए ।

नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर, फुकोट कर्णाली ४८० मेगावाट र तल्लो अरुण ६६९ मेगावाट निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर, बुटवल–गोरखपुर प्रसारण लाइन (४०० केभी)को शिलान्यास, बंगलादेशसहित त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको वातावरण बनेको बताए ।

प्रधानमन्त्रीले सबैले दृढ इच्छाशक्तिका साथ सुशासन र विकासका निम्ति काम गरे छिटै नेपालमा विकासको तुफान आउने बताए । युवाहरूलाई रोजगारी दिने विषयमा सरकार गम्भीर रहेको बताउँदै विकासलाई गति दिएर रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो ।

मलको हाहाकार अन्त्य
प्रधानमन्त्री प्रचण्डले किसानले समयमा मल नपाउने बाध्यता अन्त्य गरिएको बताए । ‘यस आर्थिक वर्षमा साढे ७८ हजार मेट्रिकटन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ । यसबाहेक एक लाख ९५ हजार नौ सय मेट्रिकटन रासायनिक मल आयात भई एक लाख ४५ हजार नौ सय मेट्रिकटन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको छ ।’ देशमै मल कारखाना खोल्ने प्रक्रिया अघि बढेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाका आवश्यक संरचनाको मर्मतसम्भार सम्पन्न भई बाह्रै महिना नियमित पानी वितरणको सुनिश्चितता गरिएको र यस अवधिमा विभिन्न आयोजनामार्फत एक लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानीको प्रत्याभूति गरिएको सुनाए । भूमिहीन दलित तथा सुकुमबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणमा तीव्रता ल्याइएको, गरिब पहिचान गरी परिचयपत्र वितरण गर्न थप १३ जिल्लामा तथ्यांक संकलन भई विश्लेषण प्रक्रिया सुरु भएको प्रधानमन्त्रीले बताए ।

हुम्लादेखि ताप्लेजुङसम्मका दुर्गम जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पुगेको, विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट आफ्नै मोबाइलमा प्राप्त गर्ने व्यवस्था गरेको, अनलाइन आवेदनको व्यवस्था गरेर राहदानी लिन भिड लाग्ने बाध्यता अन्त्य गरेको ६ महिने उपलब्धिमा उल्लेख छ । राष्ट्रिय परिचयपत्रको छपाइ तथा वितरणमा सुधार आएको, सवारीचालक अनुमतिपत्रमा सहजीकरण गरेको, बिदाको दिन पनि सेवा प्रवाह भइरहेको उल्लेख छ ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको सुरक्षित हवाई उद्धार बढाइएको, देशका विभिन्न स्थानमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, सरकारी अस्पतालहरूको स्तरोन्नति, औषधिमा आत्मनिर्भर बन्न १८ प्रकारका औषधि उत्पादनको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराए ।

वैदेशिक रोजगारीमा गएका करिब दुई लाख नागरिक केही महिनाकै बीचमा सामाजिक सुरक्षा कोषमा जोडिएको, श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका क्रममा श्रमिकहरूले झेल्दै आएको सास्ती अन्त्य भएको, अवधिका लागि श्रम स्वीकृति प्रदान गर्ने र पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यताको अन्त्य भई विदेशबाट नै अनलाइन प्रणालीबाट स्वीकृति प्राप्त हुने व्यवस्था मिलाइएको, विदेशी भूमिमा समस्यामा परेका एक सय ५६ जना नागरिकको उद्धार गरिएको उपलब्धिमा उल्लेख छ । नागरिकता (पहिलो संशोधन)ऐन जारी भएर लाखौँ युवाले नागरिकता पाउने बाटो खुलेको, आठ हजार चार सय ७१ सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको पनि उपलब्धिमा राखिएको छ ।

गुनासो
यति धेरै काम गरेर सकारात्मक सुधारको थालनी गरे पनि सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको र जनताका वास्तविक मुद्दा हराउँदै गएर सतही सस्ता विषयले त महत्वपाइरहेको गुनासो प्रधानमन्त्री प्रचण्डले गरे । विगतको तानाशाही शासन र संघर्ष इतिहास थाहा नभएका नयाँ पुस्ताका मतदातालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिएको उनको गुनासो थियो ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारले सर्वोपरि लक्ष्यका रूपमा लिएको, संस्थागत तथा प्रक्रियागत सुधारका कार्य उच्च प्राथमिकतामा रहेको बताए । ‘समावेशी संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवद्र्धनमा सरकार निरन्तर सक्रिय रहनेछ,’ उनले भने, ‘विकास निर्माणमा तीव्रता, शान्ति प्रक्रियाको तार्किक निरूपण, सामाजिक न्यायको प्रत्याभूति, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको अवलम्बनबाट राष्ट्रिय हितको अधिकतम रक्षाका लागि सरकार प्रतिबद्धता छ ।’ नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img