काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आइतबार भएको भेटघाटमा प्रधानमन्त्रीले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ’मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।’
यस अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गरे । प्रधानमन्त्रीले भने, ’आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।’
विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवद्र्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गरे । ’विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ । आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन्,’ प्रधानमन्त्री दाहालले भने ।
नेपाली र नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ’नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो । विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतमबुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ । विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ ।’
प्रधानमन्त्री दाहालले अघि भनेका छन्, ’हामी एकपटकको नेपाली सधैँका नेपाली हौं । तपाईं हामी जहाँ र जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो । विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ ।’ रासस