बुटवल — रुपन्देही र पाल्पामा परेको निरन्तर वर्षाले बुटवलको तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । बिहान साढे ३ बजेदेखि तिनाउ नदीमा पानीको सतह बढेको बताउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन नदी किनारबासीलाई आग्रह गरेको छ ।
बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउमा बिहान ७ बजे पानीको सतह ७.२२ मिटर पुगेको छ । जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेकाले सबै स्थानीय सरकारलाई सतर्क रहन आग्रह गरेको बताए ।
पाल्पाबाट सुरु भइ चुरेबाट भेल लिएर बग्ने तिनाउ र दानव नदीलाई २ सय ३७ मिटर फराकिलो बहाब क्षेत्र आवश्यक पर्ने विज्ञहरु बताउँछन् । तर, बुटवलमा नदीको बहाब क्षेत्र मुस्किलले ५० देखि ७० मिटर मात्रै छ । नदी किनारमा बाक्लो बस्ती रहेको छ ।