जुम्ला — दलित युवकको घरमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनाविरुद्ध मुद्दा चलाउने भएको छ । तातोपानी गाउँपालिका–४ का मुकुन्द नेपाली (सार्की) ले छिमेकी १६ वर्षीया किशोरी भगाएका थिए । आइतबार बिहान आगजनी गरिएको जुम्लाको तातोपानी–४, गिडीखोलास्थित मुकुन्द नेपालीको घर । तस्बिर ः डीबी बुढा÷कान्तिपुर
घटनापछि उनको घरमा आगजनी गरेको आरोपमा किशोरीका दाजु, बाबु र काकाका नाममा किटानी जाहेरी प्रहरीले दर्ता गरेको हो । अन्तरजातीय विवाह गरेकै कारण ‘जातीय भेदभावपूर्ण बदला’ लिने उद्देश्यले घरमा आगजनी गरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाले दबाब बढाएपछि प्रहरीले आगो लगाउनेविरुद्धको जाहेरी दर्ता गरेको हो ।
तातोपानी–४ गिडीखोलास्थित मुकुन्दको घरमा आइतबार बिहान ४ बजे आगजनी गरिएको थियो । आरोपितमध्ये किशोरीका २१ वर्षीय दाजुलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएको थियो । उनलाई हिरासतमा राखेर मुद्दाको कारवाही अघि बढाउन प्रहरीले अदालतबाट चार दिनको म्याद लिएको छ । उनीसँगै बाबु र काकाविरुद्ध पनि जाहेरी दर्ता भएको प्रहरीले जनाएको हो । पक्राउ परेका युवकले आफूले रिसको झोंकमा आएर आगो लगाएको प्रहरीसमक्ष स्विकारेका छन् ।
उनीविरुद्ध ‘आपराधिक उपद्रव र जातजातिका आधारमा छुवाछूत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर’ मा मुद्दा चलाउन अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सई राजु सार्कीले बताए । भित्र कोही नभएका कारण मानवीय क्षति नभए पनि घर पूर्ण रूपमा जलेको छ । केटाको परिवारको सर्वस्व मास्ने र ज्यानसमेत जोखिममा पार्ने गरी घरमा आगो लगाएको भन्दै जुम्लाका दलित संघसंस्था र अधिकारकर्मीले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
दलित सेवा संघ जुम्लाका अध्यक्ष भीमबहादुर सार्कीले अन्तरजातीय विवाह गरेकै कारण केटाको घरमा आगो लगाउनु जातीय भेदभाव र छुवाछूतको जघन्य कसुर भएको बताए । जिल्लाका दलितसम्बद्ध संस्थाहरूले गैरकानुनी विवाहमा कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा घर नै जलाइदिनु दुःखद भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
‘अन्तरजातीय विवाहको निहुँ बनाएर दलित परिवारको घर नै जलाइदिनुले कानुनको उपहास भएको छ,’ संघ अध्यक्ष सार्कीले भने, ‘दलित समुदायमाथि विभिन्न बहानामा जातीय विभेद तथा मानवताविपरीतको निन्दनीय व्यवहारले मानवअधिकारको ठाडो उल्लंघन भएको छ ।’
घर जलेको स्थानमा सोमबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंलगायतको टोली पुगेर भएको क्षतिबारे बुझेको छ । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाका प्रमुख धनराज शाही नेतृत्वको टोली पनि घटनास्थलमा पुगेको छ । घटनास्थलमा पीडित पक्ष, स्थानीय, जनप्रतिनिधि र किशोरी आफन्तसँग भेटघाट गरेर फर्किएको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले घटनाको छानबिन अगाडि बढिसकेको बताए ।