काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।
ित्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ । बोर्डले त्यससम्बन्धी निर्णय गत सोमबार गरेको थियो । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।
कक्षा ११ मा भर्ना पाउन अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनैपर्छ । विज्ञान पढ्न विज्ञान र गणितमा सी प्लस ल्याउनैपर्छ । आठ विषयमा परीक्षा दिँदा गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानबाहेकका तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा डी ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।
कक्षा ११ मा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । यी समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् ।
सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।
समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् ।
सैद्धान्तिक विषयतर्फ सी वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् ।
मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् ।
बिहीबार सार्वजनिक गर्न लागेको एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।