काठमाण्डौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी प्रतिनिधिसभामा सम्बोधन गर्ने सहमतिपछि नेकपा एमालेले सदनमा अवरोध नगर्ने भएको छ ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएको छलफलमा यो सहमति जुटेको हो । छलफलमा प्रधानमन्त्रीले कमजोरी स्वीकार गरी संसदमा सम्बोधन गर्ने सहमतिपछि एमाले सदन खुलाउन तयार भएको हो ।
प्रधानमन्त्री प्रचण्डले गएको असार १८ गते एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवरोध गर्दै आएको थियो । यसअघि हिजो आइतवार शीर्ष तीन दलबीच सदन खुलाउन सहमति भएको भनिए पनि त्यसको दुई घण्टामा नै संसद् स्थगित भएको थियो । आजको सहमतिपछि प्रतिनिधिसभाको बैठक केहीबेरमा सुरु हुँदैछ ।