दान बहादुर बुढा,मुगु
रोग, भोक र गरिबीको पर्यायका रूपमा चिनिँदै आएको मुगु जिल्लामा रहेको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का स्थानीयबासीले खेति गर्दै आइरहेको जग्गालाई बाँझो राखे वडा कार्यालयबाट दिइँदै आएका सरकारी सेवा(सुविधा नदिइने निर्णय भएको छ ।
मंसिर ३ गते बसेको वडापालिकाको बोर्ड बैठकले हिउँदेबाली नलगाएर जग्गा बाँझो राख्नेलाई वडाबाट प्रदान हुने कुनै पनि सेवा(सुबिधा नदिने निर्णय गरिएको वडाअध्यक्ष विष्णुकुमार भामले जानकारी दिए ।
छायानाथा रारा नगरपाका वडा नम्बर ४ मा रहेका बस्तीहरु भामबाडा, रावलबाडा र रोकायाबाडाका स्थानीयले खेती गर्दै आइरहेको जग्गा बाँझो राख्दै स्थानीय परम्परागत रुपमा लगाउँदै आएको हिउँदेबाली जौ र गहुँ लगाउन छोडेका छन् । यसैले यो बाली हराउने अवस्थामा पुगेपछि छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ ले यस्तो निर्णय गरेको हो । नगरपालिकाभित्र रहेका अन्य बस्तीमध्ये यस वडा(बस्तीमा रहेको सबै जग्गामा एक वर्षमा दुईपटक अन्न बाली उत्पादन हुने गरेको छ ।
बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं र गहुँ लगाउने गर्दै आइरहेका छन् । यी बस्तीमा केही वर्षयता हिउँदे अन्न बाली जौँ र गहुँ लगाउन छोडेर तरकारी खेती गर्दै पनि आइरहेका छन् ।
वडा सरकारबाट जग्गा बाँझो राख्नेलाई सरकारी सेवा रोक्का गर्ने निर्णय गरेपछि कृषकहरुका लागि थप राम्रो भएको छाँयानाथ रारा नगरपालिका( ४ भामबाडाका युवा कृषक अंख भामले बताए । वडा कार्यालयको उक्त निर्णय गाउँलेलाई जानकारी गराइसकेको छाँयानाथ रारानगरपालिका( ४ का वडा अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए । जौँ र गहुँ अन्य बालीभन्दा गोडमेल तथा खेती गर्न सजिलो भए पनि छाडा पशुचौपाया तथा हिउँदमा हिमपात कम पर्ने भएकाले बाली लगाउन छोडेको स्थानीयले बताएका छन् ।
हिउँदे बालीका लागि सबैभन्दा समस्या छाडा चौपाया नै हुन् । छाडा पशुचौपायालाई व्यवस्थापन गरे बाली लगाउन सकिने स्थानीयले बताएका छन् । चार(पाँच वर्षअगाडि पाँच हलभन्दा बढी जग्गामा लगाएको बाली बिक्रीबाट ५० हजारभन्दा बढी आम्दानी गरेको कृषक भिमबहादुर रोकाया सम्झन्छन् ।